
- कञ्चनपुरको लालझाडी गाउँपालिकामा विश्व बैंकको रु २९ करोड अनुदानमा सडक स्तरोन्नति कार्य भइरहेको छ।
- गाउँपालिका–६ चानदेवदेखि वडा २ काठमाडौँ डाँडासम्मको १३.६ किमी सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको छ।
- सडक निर्माण कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने लक्ष्य राखेर प्रभावित क्षेत्रका परिवारसँग छलफल गरिएको छ।
कञ्चनपुर- लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ ।
प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।
उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक कालोपत्र कार्यका लागि डुकुचु/अनक/जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ”, अध्यक्ष रानाले भने ।
सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ ।
प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।