
- बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँग ६ वटा ठेक्का सम्झौता तोड्ने सूचना जारी गरेको छ।
- कम्पनीले २०७७/७८ मा ठेक्का लिँदासमेत निर्माण प्रगति नगरी काम बीचमै छाडेको पाइएको छ।
- ठोस प्रमाण नल्याए १५ दिनभित्र कारबाही अगाडि बढाई कम्पनीलाई कालोसूचीमा राखिने छ।
काठमाडौँ- ठेक्का सम्झौता गर्ने तर वर्षोंदेखि काम नगरी अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का सम्झौताहरू तोड्न सुरु गरिएको छ।
यसै क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी, गुलरिया–५ सँग गरिएको ६ वटा ठेक्का सम्झौताहरू तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।
आयोजनाका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मत लगायतका कामका लागि कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। तर यी ६ वटा ठेक्कामध्ये चार वटाको निर्माण प्रगति शून्य छ भने बाँकी दुईको प्रगति क्रमशः ३० प्रतिशत र ५५ प्रतिशत मात्र रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगरेर आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्नका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई कडा निर्देशन दिएका थिए।
आयोजनाले पटक–पटक सूचना प्रकाशित गर्दा पनि कम्पनीले सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छाडेको र ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्न कुनै चासो नदिएको जनाएको छ।
ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्तिलाई आयोजना कार्यालयमा उपस्थित हुन सूचनामा आह्वान गरिएको छ।
यदि पेस गरिएका प्रमाणहरू नियमसङ्गत, भरपर्दो वा चित्तबुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ।
हाल सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ वटा आयोजनाका ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये अहिले बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।