
- अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाका राष्ट्रपति पुटिनबीचको पछिल्लो वार्ता ‘अत्यन्त सकारात्मक’ रह्यो र हंगेरीमा भेट्ने सहमति भयो।
- युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकामा रहँदा भएको वार्तापछि ट्रम्पले टोमहक मिसाइलहरूबारे स्पष्ट निर्णय दिन असमर्थता व्यक्त गरे।
- हंगेरीका प्रधानमन्त्री ओर्बानले ट्रम्प-पुटिन भेट शान्ति चाहनेहरूको लागि निकै महत्त्वपूर्ण खबर भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अगस्टपछि पहिलोपटक कुराकानी भएको छ। ट्रम्पका अनुसार यो वार्ता ‘अत्यन्त सकारात्मक’ रह्यो। दुइ नेताबिच हंगेरीमा छिट्टै भेट गर्ने सहमति समेत भयो।
हंगेरीको बुडापेस्टमा हुने उक्त बैठकको मितिबारे ट्रम्पले केही बताएनन्। तर रुसका राष्ट्रपति कार्यालयका अनुसार ट्रम्पसँगको ‘स्पष्ट र विश्वासिलो’ कुराकानी भएपछि दुबै नेताको भेटका लागि तयारी सुरु गरिने जनाइएको छ।
पुटिनसँग भेट्नेबारे ट्रम्पको यो भनाइ त्यस्तो समयमा आएको छ जब उनलाइ भेट्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले अमेरिकामा छन्। ट्रम्पले केही दिन अघि मात्र युक्रेनलाई टोमहक मिसाइल उपलब्ध गराउने सम्भावनामा विचार गरिरहेको बताएका थिए। यी मिसाइलहरूले रुसको भित्री भागसम्म आक्रमण गर्न सक्ने क्षमता राख्छन्।
वासिङ्टन पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै टोमहक मिसायलका लागि वार्ता सुरु हुनासाथ रसियाले वार्ता सुरु गरेको बताए। उनले लेखेका छन्, ‘हामीले देख्न सक्छौं कि टोमहक मिसाइलहरूको चर्चा सुरु हुनासाथ रुसले वार्ता पुनः सुरु गर्न हतारिन थालेको छ।’
यसको करिब दुई घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका थिए की ‘युक्रेनसँगको युद्ध समाप्त भएपछि अमेरिका र रुसबीच व्यापार विस्तारबारे विस्तृत रूपमा’ छलफल भएको छ।
ट्रम्पले दुवै देशका उच्चस्तरीय सल्लाहकारहरूलाई अर्को हप्तामा एक गोप्य स्थानमा भेट्ने छन्। जहाँ अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने छन्। ट्रम्पले यो पनि भनेका छन् कि उनी पुटिनसँग भएको फोन वार्ताको विवरण युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई दिने छन्। उनले लेखे, ‘मलाई लाग्छ आजको टेलिफोन वार्ताले पर्याप्त प्रगति गरेको छ।’
पछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिनसँग दुई हप्ताभित्र भेट हुने विश्वास व्यक्त गरे। यस क्रममा पत्रकारहरूले पुटिनसँगको वार्तापछि पनि के उनी युक्रेनलाई टोमहक मिसाइल दिने विचारमा छन् भनेर सोधेका थिए। ट्रम्पले जवाफमा भने, ‘हामी आफ्ना मिसाइलको भण्डार खाली गर्न सक्दैनौं। हामीलाइ पनि ती चाहिन्छन्। त्यसैले अहिल्यै भन्न गाह्रो छ हामी के गर्न सक्छौं।’
अमेरिकास्थित युक्रेनकी राजदूत ओल्गा स्टेफानिशिनाले अमेरिकी सञ्चार संस्था सीबीएससँग कुरा गर्दै पुटिन र ट्रम्पबीच फोन वार्ता हुनुभन्दा केही घण्टा अघि रुसले युक्रेनमाथि रातभर हवाई आक्रमण गरेको बताइन्। यसैबीच हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, ‘बुडापेस्टमा प्रस्तावित ट्रम्प-पुटिन भेट विश्वभरका शान्ति चाहनेहरूको लागि ठूलो खबर हो।’ साथै उनले अर्को पोस्टमा अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा भएको र ट्रम्प-पुटिनबीचको भेटका लागि तयारी सुरु भइसकेको बताए।
यसअघि यस वर्ष अगस्टमा अलास्कामा ट्रम्प र पुटिनबीच भेट भएको थियो। सो बैठक कुनै ठोस नतिजा बिना समाप्त भएपछि ट्रम्पले पुटिनप्रति कडा अभिव्यक्तिहरू दिंदै आएका छन्। १५ अगस्टको उक्त बैठकको उद्देश्य पुटिनलाई फेब्रुअरी २०२२ देखि जारी युक्रेन-रुस युद्ध रोक्न व्यापक शान्ति वार्तामा सहभागी गराउनु थियो।
केही दिनपछि ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूसँगको बैठकका क्रममा पुटिनलाई फोन गरेका थिए। त्यसबेलादेखि अहिले सम्म ह्वाइट हाउस वा क्रेमलिन दुबै तर्फबाट यी दुई नेताबीच पुनः वार्ता भएको आधिकारिक पुष्टि गरिएको थिएन।