
काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली पछिल्लो ९ वर्षयताकै खराब अवस्थामा पुगेको छ। फिफा वरियतामा ४ स्थान तल झर्दा नेपाल १८०औँ स्थानमा पुगेको हो।
अघिल्लो वरियतामा नेपाल १७६औँ स्थानमा थियो। यो सन् २०१६ डिसेम्बरपछि नेपालको सबैभन्दा खराब वरियतामा पुगेको हो। त्यो बेला नेपाल १८१औँ स्थानमा पुगेको थियो। नेपाली टोलीले पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निरीह रहँदै आएको छ।
पछिल्लो पटक नेपाल एएफसी एसियन कप छनोटका सबै चार खेलमा पराजित भएसँगै वरीयतामा खस्किन पुग्यो। साथै आफूभन्दा तल रहेको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाल गोलरहित बराबरीमा रोकिन पुगेको थियो।
फिफा वरियतामा स्पेन शीर्ष स्थानमा कायम रहेको छ। त्यस्तै अर्जेन्टिना दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो स्थानमा झरेको छ। दक्षिण एसियाली मुलुक भारत पनि दुई स्थान खस्किएर १ सय ३६ औँ स्थानमा आएको छ।