
- जिल्ला प्रशासन कार्यालय तनहुँले राति ९ बजेपछि देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ।
- पटाका, आतिशवाजीलगायतका विस्फोटक पदार्थहरूको प्रयोग नगर्न र अवैध गतिविधिमा संलग्न नभइ चाडपर्व मनाउन अपील गरिएको छ।
- स्वास्थ्य, खानेपानी, विद्युत लगायतका आवश्यक सेवाहरू सुचारु राख्न सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ।
पोखरा- जिल्ला प्रशासन कार्यालय तनहुँले राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित एवम मर्यादित रुपमा राति ९ बजेसम्म मात्र खेल्न प्रशासनले अनुरोध गरेको हो ।
शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले भनेको छ, ‘चाडपर्व मनाउदा मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी मनाउनुहोला ।’
पटाका, आतिशवाजी लगायतका विष्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न शुक्रबार प्रशासनले सूचना जारी गर्दै अनुरोध गरेको छ । जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजी, चिठ्ठा लगायतका कानूनले निषेध गरेका क्रियाकलाप गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्याल तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।
‘सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, तोकिएको भन्दा बढी भाडा नलिने तथा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा वा कुनै गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्नुहोला’, श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
दियो, बत्ती, मैनबत्ती तथा विद्युतीय उपकरणको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले सचेत गराएको छ । चाडपर्वको बेला हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न र आ–आफ्नो धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अपील गरेको हो ।
आपूर्ति, स्वास्थ्य, खानेपानी, विद्युत, टेलिफोनसँग सम्बन्धित निकायलाई अत्यावश्यक सेवा सुचारु गर्न प्रशासनले निर्देशन दिएको छ । ‘यसका लागि जिल्लामा उपलब्ध जनशक्ति, स्रोत साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर, सवारी साधन, इन्धन आदि सम्बद्ध निकायले तयारी अवस्थामा राख्ने’, सूचनामार्फत अनुरोध गरिएको छ ।
सूचना विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय तनहुँको चेतावनी छ ।