
- पोखरा महानगरपालिकाले सयपत्री फूलको थुंगा, माला र केजीको मूल्य किसान तथा व्यापारीसँग परामर्श गरी तोकेको छ।
- ‘ए’, ‘बि’, ‘सि’ ग्रेडमा फूलका थुंगा वर्गीकृत गर्न लागत अनुसार मूल्य निर्धारण गरिएको छ।
- पोखराका मेयरले स्थानीय सयपत्री फूलको खपत बढाउन प्लाष्टिक फूलमालामा रोक लगाउन आग्रह गरेका छन्।
पोखरा- पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य तोकेको छ । तिहारमा अत्याधिक खपत हुने सयपत्री फूलको थुंगा, माला र केजीको मूल्य तोकिएको हो ।
महानगरपालिकाले फूल खेती गरेका किसान, व्यापारीसँग छलफल पश्चात मूल्य तोकेको छ । महानगरपालिकाले सयपत्रीलाई तौलको आधारमा तीन ग्रेडमा वर्गिकरण गरेर मूल्य तोकेको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार एक किलो सयपत्रीको मूल्य ३०० देखि ५०० रुपैयाँ तोएिको छ । ‘ए’ ग्रेडको फूलको थुंगाको मूल्य ५ रुपैयाँ, मालाको १५० रुपैयाँ तोकिएको छ । ‘ए’ ग्रेडको एउटै थुंगा १५ देखि २० ग्रामको हुनुपर्नेछ ।
१० देखि १५ ग्राम तौल भएको ‘ब्रि’ ग्रेडको थुंगाको मूल्य ४ रुपैयाँ निर्धारण गरिएको छ । ‘बि’ ग्रेडको थुंगा गाँसेर बनाइएको मालाको मूल्य १३० रुपैयाँ लिनुपर्नेछ । ५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको सयपत्रीको थुंगाको मूल्य २ रुपैयाँ र मालाको १०० रुपैयाँ तोकिएको हो ।
महानगरपालिकाले स्थानीय सयपत्रीको विक्री स्थलसमेत तोकेको छ । पोखरा महानगरपालिकाका करिब २५ स्थानमा स्थानीय सयपत्री फूलको विक्री स्थल तोकिएको उनको भनाइ छ । तोकिएका स्थानबाट कात्तिक ३, ४ र ५ गते सयपत्रीको खरिद विक्री हुनेछ ।
पोखरा महानगरपालिकाको सहयोगमा ३ सय रोपनीमा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको कडरियाले बताए । यो वर्ष ३ लाख माला उत्पादन हुने उनको अनुमान छ । ३ देखी ४ करोडको कारोबार हुने जनाइएको छ । पोखरा महानगरपालिकाले विगत ३ वर्ष देखि निरन्तर सयपत्री फूलको बीउमा अनुदानको साथमा बजारीकरणका लागि सहयोग गर्दै आइरहेको छ । हरेक वर्ष सयपत्रीको न्यूनतम् समर्थन मूल्यसमेत महानगरपालिकाले नै तोकिदिन्छ ।
पोखराका मेयर धनराज आचार्यले स्थानीय सयपत्री फूल मात्रै खपत गर्न अनुरोध गरेका छन् । पोखरा महानगरपालिका सयपत्री फूलमा आत्मनिर्भर भइसकेकाले प्लाष्टिकका फूलमाला विक्री वितरण नगर्न उनको सुझाव छ ।
‘नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले दिपावली मनाउनुहोला’, उनले भनेका छन् । स्थानीय किसानको मनोवल उच्च बनाउनुपर्नेमा उनको जोड छ ।