
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा हङकङ सिक्से खेल्ने भएका छन्। उनले नेपाली टोलीको कप्तानी गर्दै उक्त प्रतियोगिता खेल्ने र सोहि प्रतियोगितासँगै उनले खेलाडी जीवनबाट सन्न्यास लिने क्यानले जनाएको छ। ३७ वर्षीय शरद २०२२ देखि भने राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन्।
नेपाल क्रिकेट संघले आज आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै भेषवाकरले हङकङमा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितापछि सन्यास लिने कार्यक्रम रहेको जानकारी दिएको हो। क्यानले भेषवाकरको बिदाइ प्रतियोगितालाई विशेष बनाउँदै उनलाई टोलीको कप्तानको जिम्मेवारीसमेत सुम्पेको छ। क्यानले उनको समानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको कप्तानको समेत जिम्मेवारी दिएको हो।
प्रतियोगिता हङकङमा आगामी ७ देखी ९ नोभेम्बर अर्थात २२ देखी २४ कात्तिक सम्म आयोजना हुने छ। यस प्रतियोगिताका लागि क्यानले शरद भेषवाकरको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
हङकङ सिक्सेस लागि घोषित नेपाली टोली:
शरद भेषवाकर (कप्तान), सन्दीप जोरा, मो. आदिल आलम, लोकेश बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह