
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा हङकङ सिक्सेस खेल्ने भएका छन्।
उनले नेपाली टोलीको कप्तानी गर्दै उक्त प्रतियोगिता खेल्ने र सोही प्रतियोगितासँगै उनले खेलाडी जीवनबाट सन्न्यास लिने क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघले आज आइतबार विज्ञप्ति जारी गर्दै भेषवाकरले हङकङमा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितापछि सन्न्यास लिने कार्यक्रम रहेको जानकारी दिएको हो।
क्यानले भेषवाकरको बिदाइ प्रतियोगितालाई विशेष बनाउँदै उनलाई टोलीको कप्तानको जिम्मेवारीसमेत सुम्पेको छ। क्यानले उनको सम्मानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको कप्तानको समेत जिम्मेवारी दिएको हो।
प्रतियोगिता हङकङमा आगामी ७ देखि ९ नोभेम्बर अर्थात २२ देखि २४ कात्तिकसम्म आयोजना हुनेछ। यस प्रतियोगिताका लागि क्यानले शरद भेषवाकरको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
हङकङ सिक्सेस लागि घोषित नेपाली टोलीः
शरद भेषवाकर (कप्तान), सन्दीप जोरा, मो. आदिल आलम, लोकेश बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह