
- नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठले सबै शक्ति समेट्ने सर्वपक्षीय संवादको पहल गर्न पार्टीलाई आग्रह गरेका छन्।
- निषेधको राजनीति त्यागेर देशभित्रैका शक्तिहरूसँग मिलेर समस्या समाधान गर्न उनले आह्वान गरेका छन्।
- उनले लोकतन्त्रमा फरक मत अपरिहार्य भएको भन्दै सहकार्य र संवादद्वारा समाधान खोज्नुपर्ने बताए।
नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति तथा नेता गोपालमान श्रेष्ठले वर्तमान समस्याको समाधानका लागि राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दलहरू, जेनजी आन्दोलनकारीहरू तथा फरक मत राख्ने सबै प्रकारका शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको पहल गर्न आफ्नै पार्टी नेपाली कांग्रेससँग आग्रह गरेका छन्। ‘बाह्रबुँदे’का एक हस्ताक्षरकर्ता नेता श्रेष्ठले २० वर्षअगाडिको आफ्नै कदमविपरीत निषेधको राजनीति त्यागेर देशभित्रकै शक्तिहरूबाट देशको समस्या समाधानमा पुग्न पनि आग्रह गरेका छन्।
नेता श्रेष्ठले आइतबार एक पत्रकार सम्मेलन गरी राजसंस्थासहित सर्वपक्षीय सहमति खोज्नु अहिलेको आवश्यकता रहेको जिकिर गर्दै यस्तो सहमतिका लागि आफूले पहल गर्ने पनि बताए।
उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका अनुयायीका रूपमा दलभन्दा माथि उठेर राष्ट्रिय एकता र सर्वपक्षीय भेलाको आयोजनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्नै पार्टी नेपाली कांग्रेससँग आग्रह गरेका हुन्।
उनले सबै राजनीतिक शक्तिहरूलाई यस्तो सर्वपक्षीय भेलामा सहभागी हुन आग्रह गर्दै देशको आन्तरिक समस्याको समाधान देशभित्रकै शक्तिहरूबीचको आन्तरिक छलफलबाट गर्न पनि आग्रह गरेका छन्। भारतीय भूमिमा हस्ताक्षर गरिएको बाह्रबुँदेको २० वर्षपछि नेता श्रेष्ठले आन्तरिक शक्तिकै उपस्थितिमा सर्वपक्षीय छलफल र सहमतिको आवश्यकता ओँल्याएका हुन्।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै खालका शक्तिहरूसहितको उपस्थितिमा सर्वपक्षीय सम्मेलनबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका थिए। उनले सर्वपक्षीय छलफलमा समेटिने शक्तिमा राजसंस्थाको नाम उल्लेख नगरे पनि पहिलोपटक सर्वदलीय सहमतिको अभिव्यक्ति छाडेर सर्वपक्षीय सहमतिको वाक्यांश प्रयोग गरेका थिए।
कांग्रेसका नेता श्रेष्ठले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईहरूले जटिल समयमा राष्ट्रिय मेलमिलापको नीति अंगिकार गरेको उल्लेख गर्दै जेनजी आन्दोलनले दल र दलका नेताहरूप्रति घृणा फैलाइरहेको र निषेधको नीति अपनाइएको बताए। ‘लोकतन्त्रका नाममा राजनीतिक दलहरूलाई एनजिओद्वारा विस्थापित गर्ने प्रपञ्चको शिकार हामी राजनीतिक दलहरू बनेका छौँ,’ उनले भने।
उनले यस्तो प्रपञ्चले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामा खतरा उत्पन्न गरिरहेको पनि बताए। ‘हामीले पछिल्लो २० वर्षको दौरानमा राष्ट्रको समस्या राजनीतिक दलहरूभित्रैबाट समाधान गर्नुपर्छ, निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अघि बढ्नुपर्छ,’ उनले भने।
उनले लोकतन्त्रमा फरक मत अपरिहार्य भएको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने साहस देखाउनुपर्ने पनि बताए। ‘हामीले परम्परागत राजनीतिक शक्तिहरूलाई समेत आत्मसात् गर्नुपर्छ, समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वबाट खोजिनुपर्छ,’ उनले पत्रकार सम्मेलनका क्रममा भने।
उनले कांग्रेस सभापतिको भूमिकाबाट बाहिरिएका शेरबहादुर देउवाप्रति धन्यवाद पनि प्रकट गरेका थिए।
पत्रकार सम्मेलनमा नेता श्रेष्ठले जेनजीका जायज मागलाई सम्बोधन गर्न आवश्यक रहेको तर आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतन्त्रको मर्म नै खण्डित रहेको पनि औँल्याए। उनले भने- राजनीतिक दलहरू लोकतन्त्रका बाहक हुन्, लोकतान्त्रिक व्यवस्थामा तिनको विकल्प छैन तर केही व्यक्तिहरूका व्यवहार, पारदर्शिता अभाव र जवाफदेहीताको कमीले आमजनतामा दलहरूप्रति अविश्वासको गहिरो न्यारेटिभ बनाएको छ।’
यसअघि कांग्रेस नेता शंकर भण्डारीले पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको अभियानलाई अघि बढाउने बताएका थिए।