
- तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलनको घटनामा आफू जवाफदेही नहुने स्पष्ट पारे।
- ओलीको आरोप छ कि प्रधानमन्त्रीले गोली चलाउने आदेश दिएको प्रमाण छैन र उनी दोषी ठहरिने अरु देशमा चलन छैन।
- उनले भोलिपल्ट सत्ता छाड्नुपरेकोले तत्काल छानबिन समिति बनाउन नसकेको दाबी गरे।
काठमाडौँ – जेनजी आन्दोलनमा भएको नरसंहारप्रति तत्कालीन प्रधानमन्त्री केपी ओलीले असंवेदनशील प्रतिक्रिया जनाएका छन्।
विकसित राजनीतिक घटनाक्रमबारे आइतबार सम्पादकहरुसँगको सवालजवाफमा ओलीले भदौ २३ गते बानेश्वर चोकमा जेनजी आन्दोलनमाथि भएको दमन र ‘नरसंहार’मा आफू जवाफदेही नहुने बताएका हुन्।
प्रधानमन्त्रीका रुपमा आफूले उक्त घटनाको जिम्मा लिन नपर्ने तर्क ओलीले सम्पादकहरुलाई सुनाए। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते बानेश्वर संसद भवन अगाडि १७ जना र २ जनाको इटहरीमा गोली हानी हत्या गरिएको थियो।
आन्दोलनमा भदौ २३ गतेको दमनका कारण हालसम्म ७६ जनाको मृत्यु भएको छ। विद्यार्थीमाथि सामाजिक सञ्जाल खुलाउन र सुशासन माग गर्दैैै प्रदर्शनमा उत्रेका विद्यार्थीको टाउको, छातीजस्ता संवेदनशील अंगमा गोली हानिएको थियो। एकै जनाको छातीमा आठवटासम्म गोली लागेको र २३ गते मृत्यु भएका अधिकांशको टाउकोमा गोली लागेको थियो।
उक्त घटनाबारे आफूले सोधिखोजी गरेपछि मात्रै थाहा पाएको त्यसमाथि छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन लागिएको अवस्थामा आफू भोलिपल्ट सत्ता छाडेर हिँड्नु परेको उनको भनाइ थियो। प्रधानमन्त्री छाडिसकेको अवस्थामा उक्त घटनाको जिम्मेवारी आफूले नलिने घोषणा उनले गरे।
सम्पादकहरुसँग उनले भने, ‘केपी ओलीले गोली चलेपछि इन्क्वायरी गरेपछि थाहा पाउँछ। नचलाउनु भन्दैछ। त्यही दिन बेलुका मैले कसरी यस्तरी गोली चल्यो? घुँडामुनि राख्नुपर्ने, टाउको लगेर छातीमा कसरी हान्यो? किन यत्रो धेरै गोली चल्यो? किन यत्रो धेरै युवाहरू मरे? को जिम्मेवार? त्यसकारण क्याबिनेट राखेर तत्काल मैले छानबिन समिति न्यायाधीशको नेतृत्वमा बनाउने निर्णय गरेको छु। भोलिपल्ट त बन्नेवाला थियो। अनि केपी ओलीले छोड्नुपर्दैन? छोड्नुपर्छ भनेर के छोड्यो भने प्रधानमन्त्रीबाट राजीनामा गर्यो त? गरेन केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा?’
ओलीले आफूले नै गोली चलाएको कुनै प्रमाण भए दिन सम्पादकहरुलाई चुनौती दिए।
उनले हत्याको विषयमा आफूलाई जिम्मेवार बनाउनु पर्छ भन्ने मिडियाको भनाइप्रति आपत्ति जनाउँदै भने, ‘केही साथीहरूको क्यामेराले कतै मैले गोली चलाएको क्याप्चर गरेको छ? प्रधानमन्त्रीले थाहा पनि पाउँदैन, प्रधानमन्त्री त्यस्तो गोली चलाउने आदेश दिने अधिकारी पनि होइन। पछि रिपोर्ट गर्दाखेरि थाहा पाइने हो। अनि जिम्मेवार हुनुपर्छ भन्ने?’
ओलीले अरु देशमा पनि गोली चलेर हत्या हुँदा त्यसको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको दाबी गरे। अरु देशमा दजनौँ विद्यार्थी मारिँदा पनि प्रधानमन्त्रीलाई मिडियाले नजोडेको उल्लेख गर्दै त्यहाँका पत्रकारहरुको बुद्धि नभएर हो र भन्दै उनले आक्रोश पोखे।
‘कुन कुन देशमा जिम्मेवार को-को हुन्छ? रंगभेदका कारणले घाँटी थिचिएर मर्दा राष्ट्रपति जिम्मेवार हुन्छ कि? एउटा विद्यालयमा दर्जनौं विद्यार्थी मारिएका हुन्छन्, बन्दुक किनबेच गर्न पाइन्छ जुन देशमा, त्यसको राष्ट्रपतिले जिम्मा लिन्छ कि? अस्ति भर्खर पनि छिमेकीतिरै गोली चलेको थियो प्रशस्तै। मान्छे मरेका थिए, धेरै घाइते भएका थिए। मर्नेहरूको संख्या बढ्दो थियो,’ ओलीले अगाडि भने, ‘प्रधानमन्त्रीको सम्बन्धमा कसैले जिम्मेवारी लिनुपर्छ भनेर त्यहाँका पत्रकारहरूको अलिकति बुद्धि नभएर हो? कि के हो? केही भनेन त्यहाँ। प्रधानमन्त्री जिम्मेवार हुन्छ? आफ्नो आफ्नो कर्तव्य, आफ्नो आफ्नो जिम्मा, आफ्नो आफ्नो भूमिका हुँदैन?’
ओलीले अघिल्लो दिनको सुरक्षा समितिको बैठकमा आफूलाई अवस्थामा सामान्य हुने ब्रिफिङ सुरक्षा निकायबाट गरिएको दाबी गरे। तर आन्दोलनका कारण जटिल परिस्थिति आउन सक्नेबारे सम्बन्धित व्यक्तिलाई बेलैमा जानकारी गराइए पनि वेवास्ता गरेको दाबी नेपाली सेनाले गरेको थियो।
शुक्रबार युद्ध कार्यविभागका प्रमुख अनुपजंग थापाले जंग अड्डामा पत्रकार सम्मेलन गर्दै घटनाको संभावित परिस्थितिबारे जानकारी गराइएको बताएका थिए। त्यस्तै देश सञ्चारसँग एक उच्च सुरक्षा अधिकारीले पनि तत्कालीन प्रधानमन्त्री ओलीले ‘केटाकेटीको आन्दोलन’ भन्दै सबै सुरक्षा निकाय परिचालन हुन नपर्ने भन्दै रोकेका थिए।