
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटनामा परेको छ, जसमा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार विमानले रनवे छेउको तारबार तोड्दै बाहिर गएर समुन्द्रमा डुबेको थियो। विमान सानो गाडीमा ठोक्किँदा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा प्रयोग भएको बोइङ ७४७-४८१ विमान बीचमा दुई टुक्रा भएको र यसको केही भाग समुद्रमा पुगेको छ।
विमानमा सवार चार जना चालक दलका सदस्यहरू भने जीवितै उद्धार गरिएको छ। एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट स्थानीय समय अनुसार बिहान ३:५० बजे अवतरण प्रयास गर्दै थियो।
घटनापछि विमानस्थलको उत्तर रनवे बन्द गरिएको छ, तर बाँकी दुई रनवे सञ्चालनमा रहेका छन्। सन् १९९८ यता हङकङ विमानस्थलमा यो दोस्रो मानविय क्षति भएको दुर्घटना हो।