
- दाङमा जुवाको खालबाट वडाध्यक्ष भरतमणि अर्यालसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- प्रहरीको गोप्य सूचनामा घोराहीको टी–थ्री होटलबाट पक्राउ गरिएका व्यक्तिबाट ३ लाख ४५ हजार ९१५ रुपैयाँ बरामद भयो।
- घोराहीको अर्को जुवाको खालमा छापा मारी चार जनालाई पक्राउ गरि ६० हजार ६४० रुपैयाँ बरामद गरिएको छ।
दाङ- दाङमा जुवाको खालबाट वडाध्यक्षसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल र सोही नगरपालिकाका इन्जिनियर प्रवीण रावत पक्राउ परेकामध्ये रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले दिएका छन् ।
पक्राउ पर्ने अन्यमा घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटलका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेज प्रसाद आचार्य रहेका छन् ।
गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले घोराही–१८ को कोठेकोलस्थित टी–थ्री होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३ लाख ४५ हजार ९१५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ ।
त्यस्तै गए राति प्रहरीले घोराहीकै अर्को जुवाको खालमा समेत छापा मारेको छ । घोराही–१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही–१८ का अनुप कशौधन, घोराही–१५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही–१४ का सोहेलमान मनसुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ६० हजार ६४० रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।