
- तनहुँको म्याग्दे गाउँपालिका-४ मा एकैदिन ४६८ किलो सयपत्री फूल बिक्री भएको छ।
- पहिलो वर्षमै सबै फूल बिक्री हुँदा किसानहरू खुसी र बजारको सुनिश्चितता पाएर उत्साहित छन्।
- आगामी वर्ष क्षेत्रफल विस्तार गर्ने सोचले अर्को कुरा खेतीको विकल्प पनि खोज्ने योजना बनाइँदैछ।
दमौली (तनहुँ)- तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ ।
यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए ।
उनले भने, “दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ । एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ ।” पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन् ।
अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उनले बताए । उनले भने, “पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ । बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो ।”
फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उनले बताए । समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बताइन् ।
पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उनको भनाइ छ । फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उनले बताइन् ।
उनका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उनको भनाइ छ ।