
जनकपुरधाम- सिरहामा प्रतिबन्धित लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुखीपुर नगरपालिका १० बस्ने २१ वर्षीय संगीत कुमार सदाय, २० वर्षीय रिझन शर्मा र सुखीपुर ६ बस्ने १९ वर्षीय सरोजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार सोमबार साँझ करिब ५ बजेको समयमा बरियारपट्टी गाउँपालिका ३, पेट्रोल पम्प स्थित इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटेको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका तीनै जनालाई शंकाको आधारमा चेक जाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको हो ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारगन, ट्रालजेसिस र इजेपम्प गरी कुल १८ एम्पुल लागुऔषध बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।