
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले फागुन २१ मा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।
तिहार, नेपाल संवत र छठलगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्न आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए।
उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे। ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौँ र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं।’
केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। नारायणकाजी कमरेड र म गएका थियौँ। हामीले भन्यौँ– चुनावको पक्षमा छौँ,’ उनले भने।
पुनले २३ गनेको जेनजी आन्दोलन सही भएको र २४ गतेको विध्वंश जेनजीले नभई घुसपैठिया समूहले गराएको बताए। २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्माथि कारबाही गर्न पुनले सरकारसँग माग गरे।
विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेनजी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो।