
- प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसदका प्रतिनिधित्व गर्ने दलहरूसँग पहिलोपटक छलफल गर्न लागेकी छिन्।
- छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा सहभागी हुने जानकारी प्रेस संयोजकले दिए।
- सात राजनीतिक दललाई औपचारिक पत्र र टेलिफोनद्वारा छलफलमा सहभागी हुन आमन्त्रण गरिएको थियो।
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग पहिलोपटक गर्न लागेको छलफल मंगलबार अपराह्न केहीबेरमै सुरु हुँदै छ। बैठकका लागि दलका प्रतिनिधिहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
दलहरूसँगको उक्त छलफलमा दुई जना पर्यवेक्षकहरु केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने पनि रावलले जानकारी दिए।
छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क गरिएको थियो।
प्रधानमन्त्री कार्कीसँग दलहरूको पहिलो औपचारिक छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका नेता सहभागी हुनेछन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो ।
निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्ने समेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए ।