
- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ मा संवैधानिक उपलब्धिको रक्षा गर्दै देश समृद्ध बनने कामना गरे।
- सभामुख घिमिरेले भ्रष्टाचार अन्त्य र सुशासनका लागि युवा पुस्ताको आवाज सुनी नयाँ संकल्प आवश्यक रहेको बताए।
- राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपालीबीच साझा सहकार्यको महत्वपूर्ण भूमिका रहने उनले विश्वास व्यक्त गरे।
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबै नेपालीलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो सम्वत्ले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन्।
सभामुखले जारी गर्नुभएको सन्देशमा युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न आवश्यक भएको उल्लेख छ। “ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व अपरिहार्य छ,” सन्देशमा भनिएको छ।
घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सरकार, राजनीतिक दल, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीच साझा सहकार्य अपरिहार्य रहेको विश्वास व्यक्त गरेका छन्।
“नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो,” सभामुख घिमिरेले भने, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको हो।”
उद्लेद नेपाल सम्वत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भरता र सुखी जीवनको कामना गरेका छन्।