- हुम्ला जिल्ला स्थित लिमीको इलाका प्रहरी चौकी हिमपातका कारण ६ महिनाका लागि बन्द गरिएको छ।
- भारी हिमपात र चिसोका कारण प्रहरीले कात्तिक १५ अघि नै सदरमुकाम सिमकोटमा फिर्ता हुनु परेको हो।
- तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि प्रहरी चौकी छोड्नुपर्ने अवस्था आएको जनाइएको छ।
हुम्ला – नाम्खा गाउँपालिका– ६ स्थित लिमीको इलाका प्रहरी चौकी ६ महिनाका लागि बन्द भएको छ। असोज २४ र २५ गते परेको हिमपातले एक्कासी चिसो बढेपछि चौकीका प्रहरी चौकी बन्द गरेर जिल्लामा फर्किनुपरेको हो।
दुई दिन लगातार हिमपात भएपछि चिसो निकै बढ्दा इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोटमा फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त इलाका प्रहरी चौकी ६ महिनाका लागि सुनखानीम बस्ने गथ्र्यो। कातिक १५ गते जिल्लामा फिर्ता हुनुपर्ने प्रहरी चौकीका प्रहरी यस वर्ष १५ दिनअगाडि नै चिसोको कारण फिर्ता भएको होे।
सुनखानीबाट प्रहरी फिर्ता भएपछि चौकीमा ताला लगाइएको छ। २३ जनाको दरबन्दी भए पनि हाल उक्त प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक नरबहादुर चन्दको कमाण्डमा चौध जना प्रहरी कार्यरत छन्।
प्र.ना.नि.चन्दका अनुसार बाक्लो हिमपात भएपछि चिसोले काम गर्न नसक्ने भएपछि जिल्लालाई खवर गरिएको र जिल्लाले पनि चौकी छोडेर फिर्ता हुन आदेश दिएपछि इलाका प्रहरी चौकी सुनखानीका प्रहरी सबै फिर्ता भएको हो।
चौकीको धारामा पानी जम्ने, तापक्रम पनि माईनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन हुने अवस्था आएपछि चौकी छोड्नै पर्ने बाध्यता रहेको छ।
चौकीबाट प्रहरीले असोज २६ गते नै छोड्न चाहेको भएपनि न्यालु लेकमा हिउ जमेको कारण सडक बन्द हुँदा रोकिएको थियो। अब चिसोको कारण बन्द गरिएको सुनखानी प्रहरी चौकी आगामी बैशाख महिनामा सञ्चालनमा ल्याइनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































