- दुर्गा प्रसाईँले नेपालमा राजसंस्थाको पुनर्स्थापना र साना ऋणीको ऋण मिनाहा गर्ने आन्दोलनको घोषणा गरे।
- उनले आफ्नो सम्पत्तिको ८० प्रतिशतसम्म योगदान गर्न प्रतिवद्धता व्यक्त गर्दै राजनीतिक अन्यायको विरुद्ध बोलेका छन्।
- वर्तमान सरकारलाई विदेशी चलखेलको उपज ठहर गर्दै उनी साना किसानका समस्या समाधान गर्न तयार रहेको बताए।
काठमाडौँ- राष्ट्रियता र सनातन हिन्दू राष्ट्र अभियानका नेता दुर्गा प्रसाईँले मुलुकमा शान्ति, सामाजिक सद्भाव र स्थायित्वका लागि राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको बताएका छन्।
अबको १५ दिनमा हुने उनको आन्दोलन सनातनी हिन्दु अधिराज्य स्थापनासहित साना ऋणीको कर्जा मिनाहाका लागि निर्णायक हुने उनले जानकारी दिएका छन्।
आइतबार सम्पादकहरूसँगको भेटघाटमा उनले ऋण माफीका लागि आवश्यक रकम व्यवस्था गर्न आफ्नो सम्पत्तिको ८० प्रतिशतसम्म योगदान गर्ने पनि बताए। मिडिया, पत्रकार र नागरिक समाजका नेताहरूप्रति टिप्पणी गरेकामा क्षमायाचना गरे पनि उनले केपी ओली र प्रचण्डले जस्तै डा. गोविन्द केसीलगायतले नियम कानुनका दायरामा रही झापामा बीएन्डसी मेडिकल कलेज स्थापनामा आफूलाई अवरोध तथा अन्याय गरेको आरोप लगाए।

माओवादी विद्रोहमा आफ्नो लामो संलग्नता र पछि प्रचण्ड र केपी ओलीलाई एकै ठाउँमा ल्याउने प्रयासमा आफ्नो मुख्य स्वार्थ मेडिकल कलेजको सम्बन्धन हासिल गर्नु नै रहे पनि उनीहरूबाट भएको अन्यायले आफूलाई व्यापक राष्ट्रिय राजनीतिमा धकेलेको दाबी उनले गरे।
योबीचमा मुलुकमा व्यापक राजनीतिक र सामाजिक संकटहरू उत्पन्न गर्नमा आइएनजिओ तथा उनीहरूको सहयोगमा चल्ने एनजिओहरूको भूमिका स्पष्ट देखिँदा अब तिनीहरूलाई प्रतिबन्ध लगाउनुपर्ने आफ्नो अडान पनि उनले स्पष्ट पारे।
आफ्नो लामो पत्रकार सम्मेलनमा प्रसाईँ कहिले भावुकता र आँसुमा प्रस्तुत भए भने कहिले सम्पादकहरूसँग क्षमायाचनाको टोनमा। तर आफूलाई नियतवश र कानुनविपरीत राज्य र कथित सामाजिक अभियन्ताहरूद्वारा अन्याय हुँदा ‘मिडिया’ मौन रहेको या विरोधमै उत्रेको गुनासो पटकपटक दोहोर्याइराखे।
‘मुलुक भुंग्रोमा छ, हिजो जे भयो त्यसलाई बिर्सिएर अगाडि बढौं, वैदेशिक सनातन हिन्दु अधिराज्य कायम गरौं। त्यो आजको परिस्थितिमा सर्वोत्तम उपाय हो,’ उनले भने।
प्रसाईँले राजा महेन्द्रको मृत्युदेखि दरबार हत्या काण्ड, माओवादी विद्रोह र नेपाल तथा भारतसँगको सीमावर्ती इलाकामा देखिएको पृथकतावादी आन्दोलनहरुको मूल ध्येयमा यो क्षेत्रको विखण्डनमा स्वार्थ देख्ने शक्तिहरुको हात रहेको बताउँदै भारत समेत यसमा सचेत हुनु पर्ने बताए।
जातिवादी आन्दोलनका कारण नेपाल टुक्रिए भारत र चीन पनि नबच्ने उनको भविष्यवाणी थियो। नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी र एमाले नेतृत्व तहमा भ्रष्टाचार व्याप्त रहेको भन्दै ओलीको प्रभाव पूरा १ लाख ४७ हजार वर्ग किलोमिटर नेपालबाट खुम्चिएर गुण्डुमा सीमित रहनुको एउटा प्रमुख कारण भ्रष्टाचार नै भएको उनले बताए। आफ्नो भावी आन्दोलनबारे व्याखा गर्दै उनले भने, ‘अब नेपाललाई नेपालीले नै जोगाउनु पर्ने र विदेशमा भएका नेपालीहरु नेपालमा नै आउनु पर्ने वातावरण निर्माण गर्नु नै यसको लक्ष्य रहेको छ।’
आन्दोलन पूर्णतया शान्तिपूर्ण हुने पनि उनले बताए। वर्तमान सरकार पनि विदेशी चलखेलकै उपज भएको आरोप उनले लगाए। डा. गोविन्द केसी, केदारभक्त माथेमा र सुशीला कार्कीबीचको सम्बन्ध स्वदेशी नरहेको र त्यो जारी रहनु मुलुकको हितमा नभएको उनको ठहर थियो।
‘प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माथेमाको उपस्थितिलाई कसरी बुझ्ने?’ उनले प्रश्न गरे।
साना किसानहरुले केही हजार रुपैया ऋण तिर्न नसकेकोमा एउटै रुखका अलगअलग हाँगाका बीच एकै परिवारका तीन-तीन जनाले आत्महत्या गरेकोऽ ऋणकै कारण प्रेम आचार्यले संसद भवन अगाडि आगो लगाएर जीवन त्याग गरेको प्रसंग कोट्याउँदै उनले भने- मलाई ती घटनाहरूले राति सुत्न दिँदैनन्। प्रेम आचार्यको आत्महत्याले के यो संसद् सान्दर्भिक छ भन्ने प्रश्न मेरो मनमा उठिरहन्छ?’
मारवाडी समुदायप्रति लक्षित गर्दै उनले भने- नेपालमा ४१ हजार मारवाडी समुदायका सदस्य छन्, मैले १६ जनाको मात्रै भ्रष्टाचार र ठगीको कुरा उठाएको छु।’
साना किसान ऋण माफीको कुरा उठाएको उल्लेख गर्दै उनले भने- ‘३८ लाख नेपालीको सम्पत्ति धितोमा छ। त्यसको व्यवस्थापन हुनसक्छ। तर राजनीतिक तह र केही व्यापारिक घरानाको साँठगाँठका कारण बन्द कम्पनीहरूले आइपिओ जारी गरेर देश र जनतालाई ठगिरहेका छन्।’
प्रस्तावित आन्दोलनबारे के सरकारसँग वार्ता गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रसाईँले भने- ‘मलाई बोलाइएमा म तयार छु तर त्यस्तो कुनै निम्ता आएको छैन।’

भर्खरै
लोकप्रिय






































































































































































































