- प्रबल जंग पाण्डेले देशमा मुख्य व्यवसाय र उद्योगहरू बन्द हुँदा राजनीतिक गतिविधिहरू चलिरहेको भन्दै गम्भीर आक्रोश व्यक्त गरेका छन्।
- उनले जेन-जी आन्दोलनले ह्यात र हिल्टन होटलहरू बन्द गर्नुका साथै पोखराबाट पर्यटक आगमन घटेको बताए।
- विद्युत महशुल विवादले ३० ठुला उद्योग बन्द हुँदा देशको उत्पादन, पर्यटन, र खुद्रा व्यापार संकटमा रहेको बताएका छन्।
काठमाडौँ- सिटिजन बैंक इन्टरनेसनलका चेयरम्यान प्रबल जंग पाण्डेले देशको वर्तमान आर्थिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले आफ्नो टिप्पणीमा, देशका प्रमुख व्यवसाय र उद्योगहरू बन्द भइरहेको तर राजनीतिक गतिविधिहरू भने निर्वाध चलिरहेको भन्दै व्यङ्ग्यात्मक शैलीमा आक्रोश पोखेका छन्। पाण्डेको यो भनाईले निजी क्षेत्रमा बढ्दो आर्थिक मन्दी र सरकारी बेवास्ता प्रति रहेको निराशालाई उजागर गरेको छ।
पाण्डेले देशका प्रमुख व्यवसायहरू बन्द भएको तथ्य प्रस्तुत गर्दै नेपालको अर्थतन्त्रको नाजुक अवस्था देखाएका छन्।
उनको भनाइमा, जेन-जी आन्दोलनका कारण ठूलो क्षति पुगेपछि ह्यात होटल बन्द भएको छ (जसलाई पुनर्निर्माण नभएसम्म अस्थायी रूपमा बन्द गरिएको जानकारी आएको छ)।
यसैगरी, आन्दोलनकै क्रममा आगजनीबाट ध्वस्त भएको हिल्टन होटल पनि बन्द छ। पर्यटन क्षेत्रमा देखिएको यो संकटको उदाहरण दिँदै उनले पोखराका केही होटल र समग्रमा पर्यटक आगमन बन्द भएको उल्लेख गरेका छन्।
व्यापारिक क्षेत्रमा समेत मन्दीको मार परेको देखाउँदै पाण्डेले आधि भन्दा बढी भाटभटेनी स्टोर बन्द रहेको र चन्द्रागिरी केबलकार पनि बन्द रहेको बताएका छन्।
यसबाहेक, देशमा माग कम भएर धेरै कलकारखानाहरू पहिल्यै बन्द भएका छन् भने ३० ठुला उद्योगको नेपाल विद्युत प्राधिकरणसँगको विद्युत महशुल बिबादका कारण लाइन काटेर बन्द गरिएको उनको भनाइ छ।
यी सबै उदाहरणले देशको उत्पादन, पर्यटन र खुद्रा व्यापार तीनवटै क्षेत्र गहिरो संकटमा रहेको देखाउँछ। आर्थिक क्षेत्रमा आएको ठप्पताको विपरीत, पाण्डेले राजनीतिक गतिविधिहरूमा भने कुनै कमी नआएको भन्दै व्यङ्ग्य गरेका छन्।
उनले व्यवसायहरूलाई ‘ताल्चा’ लागेको बेला, राजनीतिको ढोका मात्र खुल्ला रहेको भन्दै आक्रोश पोखेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































