अर्जेन्टिनाका राष्ट्रपति मिलेईको ऐतिहासिक जित, कठोर खर्च कटौती नीतिको जनअनुमोदन

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको ऐतिहासिक जित, कठोर खर्च कटौती नीतिको जनअनुमोदन
+
-

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आफ्नो कठोर खर्च कटौती नीतिको जनअनुमोदन प्राप्त गरेका छन्। कठोर आर्थिक सुधार र खर्च कटौतीको नीतिलाई बलियो जनअनुमोदन दिलाउँदै आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा उनले ऐतिहासिक रुपमा बहुमत हासिल गरेका हुन्।

सन् २०२३ मा पदभार सम्हालेयता राष्ट्रपतिका रूपमा मिलेईको लोकप्रियताको पहिलो राष्ट्रिय परीक्षाका रुपमा निर्वाचनलाई हेरिएको थियो। उनको पार्टी ला लिबर्टाड आवान्जाले करिब ४१ प्रतिशत मत प्राप्त गर्दै सिनेटका २४ मध्ये १३ सिट र प्रतिनिधिसभाका १२७ मध्ये ६४ सिटमा जित हासिल गरेको छ।

यो नतिजा मिलेईको शासनका लागि ठूलो राजनीतिक परिवर्तनका रुपमा हेरिएको छ। यसअघि संसद्‌मा उनको पार्टीसँग प्रतिनिधिसभामा केवल ३७ र सिनेटमा ७ सिट मात्र थियो, जसका कारण उनका सुधारका कार्यक्रमहरूले गम्भीर राजनीतिक अवरोधको सामना गरिरहेका थिए। विपक्षीको बहुमत रहेको संसद्ले राज्य विश्वविद्यालय र अपांगता भएका व्यक्तिहरूको बजेट बढाउने विधेयकमा उनले लगाएको भिटोलाई समेत उल्ट्याइदिएको थियो।

यो बहुमतले राष्ट्रपति मिलेईलाई सरकारी खर्चमा व्यापक कटौती गर्ने र अर्थतन्त्रलाई नियन्त्रणमुक्त बनाउने आफ्ना विवादास्पद एजेन्डाहरू अघि बढाउन मार्गप्रशस्त गर्नेछ। जितपछि ब्युनस आयर्सस्थित एक होटल बाहिर भेला भएका सयौं उत्साही समर्थकहरूलाई सम्बोधन गर्दै मिलेईले भने, ‘हामीले सुरु गरेको सुधारको बाटोलाई मजबुत बनाउनु आवश्यक छ, अर्जेन्टिनाको इतिहासलाई एकपटकका लागि पूर्ण रूपमा बदल्न र अर्जेन्टिनालाई फेरि महान बनाउन। अर्जेन्टिनी जनताले गरेको यो ऐतिहासिक आन्दोलन हो।’

यो निर्वाचनलाई अन्तर्राष्ट्रिय रूपमा समेत चासोका साथ हेरिएको थियो। मिलेईका अमेरिकी सहयोगी डोनाल्ड ट्रम्पले अर्जेन्टिनालाई दिइने ४० अर्ब डलरको सहायता मिलेईको राजनीतिक सफलतामा निर्भर रहने बताएका थिए। यसलाई समर्थकहरूले स्वागत गरे पनि आलोचकहरूले ‘विदेशी हस्तक्षेप’को संज्ञा दिएका थिए। ट्रम्पले मिलेईको खर्च कटौती नीतिलाई खुलेर समर्थन गर्दै आएका छन्।

मिलेईले पद सम्हाल्दा राज्य खर्चलाई ‘चेनस’ अर्थात जस्तोसुकै तरिकाले भए पनि काट्ने वाचा गरेका थिए। सोहीअनुरूप उनले शिक्षा, पेन्सन, स्वास्थ्य र अनुदानका बजेटमा भारी कटौती गर्दै दशौँ हजार सरकारी कर्मचारीहरूलाई बर्खास्त गरे।

ट्रम्पसहित उनका समर्थकहरूले मिलेईलाई तीन अंकको मुद्रास्फीति नियन्त्रणमा ल्याएको, बजेट घाटा घटाएको र लगानीकर्ताको विश्वास फर्काएकोमा प्रशंसा गर्छन्। तर, आलोचकहरूले यसको ठूलो मूल्य चुकाउनु परेको बताउँदै आएका छन्।

निर्वाचनको नतिजाले समर्थकहरूलाई उत्साहित बनाएको छ। ‘पहिले मिलेईसँग संसद्को १५ प्रतिशत समर्थन पनि थिएन। अब धेरै सांसद र सिनेटरहरू आफ्ना पक्षमा हुँदा उनी एक वर्षमै देश परिवर्तन गर्न सक्नेछन्,’ डियोनिसियो नामका एक युवा मतदाताले भने।

तर, समाजको अर्को तप्का भने चिन्तित छ। अपांगता भएका बालबालिकासँग काम गर्ने जुलियानालाई अब संसद्‌मा मिलेईको बहुमतले अपांगतासम्बन्धी बजेट फेरि जोखिममा पर्ने डर छ। ‘हाम्रो तलब बढेको छैन, तर अरू सबै कुरा महँगो भइरहेको छ। हामीले अझै परिवर्तन महसुस गरेका छैनौँ,’ उनले भनिन्।

दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य-वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा धकेलिएको छ। विपक्षीहरूलाई मिलेइले अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहेको सन्देश दिएका छन्।

मतदानअघि भने देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो। यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो। वासिङ्टनले चेतावनी दिँदै यदि मिलेईको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्ने जनाएको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’