काठमाडौँ – सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारालाई आर्थिक राहत वितरण गरेको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ५३ जनाको परिवारलाई १५ लाखका दरले गृह मन्त्रालयले वितरण गरेको हो।
सरकारले भाटभटेनी लुटपाटमा जाँदा मृत्यु भएका १३ र कारागार तोडेर भाग्ने क्रममा मृत्यु भएका १० जनाका परिवारलाई पनि राहत नदिएको जनाएको छ। शवको पहिचान नखुलेका मृतकका परिवारलाई पनि सरकराले रकम उपलब्ध गराएको छैन।
राहतका लागि अर्थ मन्त्रालयले ७ करोड ९५ लाख रुपैयाँ गृह पठाएको थियो। यसअघि आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई सरकारले दश लाख दिने गरेको थियो। तर जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई भने पाँच लाख थपेर १५ पुर्याइएको गृह मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ। भदौ २३ गते एकै दिन काठमाडौँ र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































