काठमाडौँ – जेनजी आन्दोलनका क्रममा सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनीका पत्नी आरजु राणा थप उपचारका लागि सिंगापुर जाने भएका छन्।
कांग्रेसका एक नेताका अनुसार उनीहरु सोमबार बेलुका त्यसतर्फ जान लागेका हुन्। सरकारले पासपोर्ट रोक्का नगरे पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी अधिकारीलाई देउवा उपचारका लागि सिंगापुर जानेबारे जानकारी दिएका थिए। प्रधानमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर जान अनुमति दिएका हुन्।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा एकै दिन १९ जना युवाको मृत्यु भएपछि भोलिपल्ट भड्केको हिंसात्मक आन्दोलनमा देउवा दम्पतीमाथि निवासमै सांघातिक आक्रमण भएको थियो। देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो।
आरजुमाथि पनि निर्घात कुटपिट भएको थियो।
बुढानिलकण्ठस्थित निवासबाट उद्धार गरेर उनीहरुलाई सैनिक अस्पतालमा लगेर उपचार गरिएको थियो। झण्डै तीन हप्ता अस्पताल बसेपछि उनीहरु अस्थायी आवासमा फर्किएका थिए।
घटनाको केही दिनमै उनीहरुलाई उपचारका लागि विदेशी लैजाने विषयमा कुराकानी भए पनि रोकिएको थियो। सिंगापुरमा उनीहरु कति समय बस्ने भन्ने खुलाइएको छैन।

भर्खरै
लोकप्रिय






































































































































































































