- इन्द्रसरोवरमा रासायनिक विषादीको प्रयोगले माछाको तौल र उत्पादन घट्न थालेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ।
- सिल्भर कार्प र ग्रास कार्पजस्ता जातका माछाहरूमा माछा चारा घट्दा तौल र वृद्धि क्षमता कमी भएको छ।
- कुलेखानी तालको माछाको आकार घटेपछि स्थानीय अर्थतन्त्र, रोजगार र सामुदायिक विकासमा नकारात्मक असर परेको छ।
हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ ।
मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो ।
करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिए। पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ ।
बलामीका अनुसार तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्सात्को समयमा खोलानाला हुँदै तालमा मिसिन्छ । उनले भने, “यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना (माछाले खाने सुक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ) र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्दैनन् ।”
विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आएको मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष बलामीले उल्लेख गरे ।
उनका अनुसार सङ्घले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँटको व्यवस्था गरेको छ । यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ ।
माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ । उनले भने, “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ, माछाको प्राकृतिक खाना घटेकाले पनि तिनीहरूको वृद्धि क्षमता घट्दै गएको हो ।” उनले आफ्नो होटलमा राखिने परिकारमध्ये कुलेखानी तालको माछा विषेश मान्ने गरिएको बताए।
ताल वरपरका गाउँमा स्थानीय समुदायले माछापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ । माछाको आकार घटेपछि कृषकले अहिले आर्थिक घाटा बेहोर्नुपरेको मगरले बताए।
कुलेखानी–कलङ्कीका युवा संसार बलामीका अनुसार, तालमा माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको काम इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले गर्छ । उनले भने, “तालले गाउँका सयौँ घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ, जसले गाउँको अर्थतन्त्रमा पनि असर पारेको छ ।” ताल र माछाको कारण पर्यटन प्रव्रद्धन भएको उनको भनाइ छ ।

भर्खरै
लोकप्रिय






































































































































































































