- प्रचण्डले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखिएका चुनौतीहरू समाधान गर्न वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
- राष्ट्रिय समस्या समाधानका लागि अग्रगामी क्रान्तिकारी विचार र इमान्दार राजनीतिक पहलकदमी अपरिहार्य हुनेमा प्रचण्डले जोड दिएका छन्।
- संविधानको रक्षा गर्दै लोकतन्त्रको विकासका लागि गणतान्त्रिक शक्तिहरू राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुनुपर्ने उनले बताएका छन्।
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौतीहरू समाधान गर्नका लागि सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन र लोकतान्त्रिक शक्तिहरूसँग राष्ट्रिय सहकार्य गर्न अपिल गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा देशले भोगिरहेका जटिलता तथा जनअपेक्षा, साथै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीहरू हल गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान शक्तिहरूका सामु रहेको उल्लेख गरेका छन्।
प्रचण्डले राष्ट्रिय समस्या र संकटहरूको समाधान केवल ‘अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी’बाट मात्रै सम्भव हुनेमा जोड दिएका छन्।
उनले यसका लागि दुईवटा कार्यभारलाई अपरिहार्य मानेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले ‘एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता’ रहेको बताएका छन्।
उनले सोही सत्यलाई आत्मसात् गर्दै, देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गरेका छन्।
साथै, उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सम्पूर्ण गणतान्त्रिक शक्तिलाई ‘राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन’ समेत आह्वान गरेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































