- प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नगरकोटको नवनिर्मित भवनको उद्घाटनका साथै वृक्षारोपण गरे।
- नवनिर्मित भवनलाई नागरिकको प्रहरीप्रतिको अपेक्षा र विश्वासको प्रतीक भन्दै खापुङ्गले उच्च सेवाभावको विश्वास व्यक्त गरे।
- चार करोड ४६ लाखको लागतमा बनेको भवनले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा छ।
काठमाडौँ- प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गरेका हुन्। साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका छन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गरे।
नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।
प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
सरकारको नियमित बजेटबाट कुल रु चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

भर्खरै
लोकप्रिय






































































































































































































