काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले केही दिन अघि रसले राजीनामा दिएको जानकारी दिए। गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पुरा नहुँदै राजीनामा दिएका हुन्।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामाको कारण भने नखुलाएको राइले बताए।
राइले भने, ‘उहाँले राजीनामा दिनु भएको छ। राजीनामाको कारणबारे केही पनि खुलाउनु भएको छैन्।’
राइले अब नयाँ प्रशिक्षक नियुक्तिका लागि प्रकृया सुरु गर्ने बताए। रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ खेलमा जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन्।
रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि नेपाल जितविहीन रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































