- मौसमविद्हरूले आज रातिदेखि भोलिसम्म नेपालको धेरै भागमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन्।
- जल तथा मौसम विज्ञान विभागले तीन दिनको लागि मौसमी चेतावनी जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
- कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा भारी वर्षा र हिमपातको जोखिम रहेको छ।
काठमाडौं– मौसमविद्ले आज रातिदेखि भोलिसम्म देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। मौसमविद् विनोद पोखरेलले अहिले न्यूनचापीय प्रणाली नेपालभन्दा धेरै टाढा रहेको र आज रातिदेखि सक्रिय हुने बताए।
उनका अनुसार, मोन्थाको प्रभावले हिजो बेलुकादेखि पूर्वी नेपाल र आज बिहानदेखि गण्डकी प्रदेशभन्दा पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
‘तर, यो त ट्रेलर मात्र हो है १ न्यूनचापीय प्रणाली (चक्रवातको मूल भाग) अझै नेपालबाट धेरै टाढा छ। यो प्रणालीले आज रातिदेखि भोलिसम्म (कार्तिक १३ र १४ गते) धेरै ठाउँमा भारी वर्षा गराउने सम्भावना राम्रै छ,’ पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्।
यता जल तथा मौसम विज्ञान विभागले तीन दिन (कार्तिक १३, १४ र १५ गते)का लागि मौसमी चेतावनी जारी गरेको छ। विभागले देशका विभिन्न भागमा वर्षा र हिमपातको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार, आज रातिदेखि कोसी, मधेस र वाग्मती प्रदेशका सबै जिल्लामा तथा गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, नवलपरासी र रूपन्देही जिल्लामा ‘सतर्क रहन’ भनेको छ।
विभागले शुक्रबार कोसी, मधेस, र वाग्मती प्रदेशका सबै जिल्लासहित गोरखालाई ‘सतर्क रहने’ सूचीमा राखेको छ।
शनिबार कोसी प्रदेशको पूर्वी भेगका संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा ‘सतर्कता’अपनाउन भनिएको छ। बाँकी अधिकांश जिल्लाहरूमा मौसम सुधार हुँदै जाने अनुमान गरिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































