-  झापा प्रहरीले सरोज शर्माको हत्या आरोपमा दुई जना मामा–भान्जालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
 -  अनुसन्धानले सुनिलले आर्थिक प्रलोभनमा परी सरोजको हत्या गरेको र फिरौती असफल भएपछि उनलाई मारेको खुलासा भएको छ।
 - सरोजको शव बिरिङ नदीको पुलमुनि गाडेर कार जलाउने प्रयासमा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।
 
झापा–  झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या आरोपमा दुई जना मामा–भान्जालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २७ वर्षीय सुनिल साह (मामा) र अन्दाजी २३ वर्षीय राहुल साह (भान्जा) रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट करिब एक केजी ‘ब्राउनसुगर जस्तो’ लाग्ने लिसाइलो पदार्थको डल्लो बरामद भएको छ, जसलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।
घटनाका मुख्य योजनाकार मानिएका सुनिलले आर्थिक प्रलोभनमा परी छिमेकी साथी सरोजको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। यस घटनामा एकजना भारतीय युवकको पनि संलग्नता रहेको र उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार हत्याको मनसाय सरोजलाई अपहरण गरी भारत लैजाने, लागूऔषध देखाएर प्रहरीको फन्दामा पार्ने र ठूलो रकम फिरौती माग्ने रहेको थियो।
काठमाडौँमा आइटीको काम गर्दै आएका सरोज नयाँ गाडी लिएर चाडपर्व मनाउन घर आएका बेला सुनिलसँग उनको भेट भयो। सरोजले सस्तोमा सुन किनेर काठमाडौँमा बेच्ने कुरा गरेपछि सुनिलले सुन खोजिदिने बहाना बनाएर अपराधको योजना बुने।
कात्तिक ९ गते सुन हेर्न बोलाएर सुनिलले भान्जा राहुलसँग मिलेर सरोजलाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा अपहरण गरे। तर, फिरौती माग्ने उनीहरूको योजना सफल नभएपछि सोही दिन साँझ साढे ५ बजे उनीहरूले सरोजलाई हथौडाले हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी खड्काले बताए।
हत्यापछि सोही रात सुनिल र राहुलले भारतीय सहयोगीको मद्दतमा सरोजको किया सेल्टस कारको डिक्कीमा शव राखेर झापा गाउँपालिका ५ सीमा नजिक बिरिङ नदीको पुलमुनि लगेर गाडेका थिए।
घटनाको भोलिपल्टै प्रहरीले सुनिललाई पक्राउ गरेको थियो तर प्रमाण अभावमा छाडेपछि उनले प्रमाण नष्ट गर्ने प्रयास गरे। कात्तिक १३ गते बिहान सुनिलले सरोजको कार चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र लगेर जलाए। कार जलाएर फरार हुँदै गर्दा घटनास्थलमा सुनिलले लगाएको एउटा चप्पल फेला परेको थियो। सोही चप्पलको आधारमा प्रहरीले सुनिललाई विराटनगरस्थित रानी सीमा क्षेत्रबाट र राहुललाई शिबसताक्षी–१० स्थित उनकै घरबाट नियन्त्रणमा लिएपछि सरोजको हत्याकाण्डको सम्पूर्ण रहस्य बाहिर आएको डीएसपी खड्काले बताए।
पक्राउ परेका मामा–भान्जालाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव र ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ।
प्रहरीले उनीहरू लागूऔषध कारोबारी भए नभएको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक सरोजको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएपछि आइतबार कन्काई माईमा अन्त्येष्टि गरिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































