-  आधुनिक शिक्षण अब पाठ्यपुस्तक र परीक्षा-केन्द्रित सीमामा सीमित नरही सोच्ने, प्रश्न गर्ने, विश्लेषण गर्ने क्षमता विकास गर्नु हो।
 -  नेपालका विद्यालयहरूले परियोजनामूलक, सूचना प्रविधि–आधारित, र विद्यार्थी–केन्द्रित शिक्षण अभ्यास शुरू गर्दैछन्।
 - शिक्षकको रोल ज्ञान हस्तान्तरणमा सीमित नराखी सत्यनिष्ठा, पारदर्शिता, र उत्तरदायित्व आत्मसात गर्नेमा केन्द्रीत हुनुपर्दछ।
 
शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति होइनन्, उनी भविष्यको समाज निर्माण गर्ने सर्जक हुन्। उनको सोच, आचरण, र जीवनशैलीले विद्यार्थीको चरित्र, दृष्टिकोण, र मूल्य प्रणालीमा गहिरो प्रभाव पार्छ। यही प्रभावले राष्ट्रको स्वरूप र दिशानिर्धारण गर्छ। शिक्षण कुनै सामान्य पेशा होइन; यो राष्ट्रनिर्माणको दायित्व र अभियान हो।
आजको युग ज्ञान, विज्ञान, र प्रविधिको युग हो। कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट अफ थिङ्स, बिग डेटा, र डिजिटल मिडियाले शिक्षण–सिकाइको स्वरूप नै रूपान्तरण गरेका छन्। विद्यार्थीहरू अब केवल पाठ्यपुस्तकमा सीमित छैनन्; उनीहरू विश्वका विश्वविद्यालय, अनुसन्धान केन्द्र, र अनलाइन स्रोतहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्छन्। अहिले शिक्षकको भूमिका पनि बदलिएको छ। शिक्षक अब केवल ज्ञान दिने होइन, ज्ञानको मार्गदर्शन गर्ने उत्प्रेरक, सहयोगी, र प्रेरणादायी सह–शिक्षार्थी बनेका छन्।
२१औं शताब्दीको शिक्षकले अब विद्यार्थीलाई पढाउनु भन्दा पनि कसरी सोच्ने, कसरी सिक्ने, र सिकेका कुरा जीवनमा कसरी उपयोग गर्ने भन्ने क्षमता विकास गराउनुपर्छ। विद्यार्थीलाई जिम्मेवार, संवेदनशील र सिर्जनसिल सोच राख्ने नागरिक बनाउन पर्छ।
नेपालमा शिक्षण पेशा अझै पनि परम्परागत सोच र अभ्यासमा सीमित छ। धेरै विद्यालयहरूमा शिक्षण प्रक्रिया ‘कक्षा–पाठ्यपुस्तक–परीक्षा’को दायराभित्र सीमित रहँदै आएको छ। स्रोतसाधनको अभाव, शिक्षक तालिमको कमी, र प्रशासनिक दबाबका कारण नयाँ पद्धति अपनाउन कठिनाइ भएको देखिन्छ। तर पछिल्लो समय शिक्षण विधामा परिवर्तनका संकेतहरू देखिन थालेका छन्। केही विद्यालयहरूले परियोजनामूलक, सूचना प्रविधि–आधारित, र विद्यार्थी–केन्द्रित शिक्षण अभ्यास सुरु गरेका छन्। डिजिटल उपकरणको प्रयोग र प्रायोगिक शिक्षण पद्धति अपनाउने प्रवृत्ति बढ्दै गएको छ। दक्षतामूलक पाठ्यक्रम र शिक्षक तालिम कार्यक्रममार्फत शिक्षकहरूलाई आधुनिक शिक्षण प्रविधि र दृष्टिकोणसँग अनुकूल हुन प्रेरित गरिनु आवश्यक छ।
शिक्षकका प्रमुख गुणहरू
२१औं शताब्दीका शिक्षक सृजनात्मक सोच, नवप्रवर्तनशील दृष्टिकोण र प्रेरणादायी व्यक्तित्वका धनी हुनुपर्छ। उनीहरू केवल ज्ञान बाँड्ने पात्र मात्र होइनन्, विद्यार्थीमा नयाँ विचार, जिज्ञासा र सकारात्मक दृष्टिकोण जगाउने उत्प्रेरक हुन्। आधुनिक शिक्षण अब पाठ्यपुस्तक र परीक्षा-केन्द्रित सीमामा सीमित छैन; यसको मूल उद्देश्य विद्यार्थीमा सोच्ने, प्रश्न गर्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमता विकास गर्नु हो। त्यसैले शिक्षकले सिकाइलाई जीवनसँग जोड्दै विद्यार्थीको जिज्ञासा, कल्पनाशीलता र आत्मविश्वासलाई निरन्तर प्रोत्साहन दिनुपर्छ।
आजको युग प्रविधिको युग हो, जहाँ डिजिटल साक्षरता अपरिहार्य बनिसकेको छ। शिक्षण–सिकाइ प्रक्रियामा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूको प्रभावकारी प्रयोग शिक्षकको आधारभूत दक्षता बन्न थालेको छ। च्याटजिपिटी, गुगल क्लासरुम र जुमजस्ता डिजिटल माध्यमको प्रयोगले कक्षा शिक्षणलाई आकर्षक, अन्तरक्रियात्मक र व्यवहारिक बनाउँछ। प्रविधिमैत्री शिक्षकले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी, विश्वव्यापी प्रतिस्पर्धामा सक्षम बनाउने सीप प्रदान गर्छन्। यस्ता शिक्षकले प्रविधिको जिम्मेवार र सृजनात्मक प्रयोगमार्फत विद्यार्थीलाई भविष्यका पेशागत चुनौतीहरू सामना गर्न तयार पार्छन्।
शिक्षक तालिम कार्यक्रमहरूमा डिजिटल साक्षरताको समावेश, एआई उपकरणको प्रयोगमा दक्षता विकास, र प्रविधिको नैतिक प्रयोगबारे सचेतना अत्यावश्यक छ। शिक्षण पेशालाई समयानुकूल बनाउँदै लैजान यस्ता पहलहरू अपरिहार्य छन्।
जीवनपयोगी शिक्षाको दृष्टिकोण आजको शिक्षकको अर्को अनिवार्य गुण हो। शिक्षाको लक्ष्य अब केवल परीक्षा पास गर्नु वा अंक प्राप्त गर्नुमा सीमित रहनु हुँदैन। शिक्षा जीवनका समस्यासँग जुध्ने, निर्णय लिने, र समाजमा योगदान पुर्याउने सीप विकास गर्ने माध्यम हो। शिक्षकले विद्यार्थीमा ‘सीप, मान्यता, र मानवीयता’ यी तीन आधार स्तम्भ निर्माण गर्न सिकाउन पर्छ। कक्षाकोठा सिकाइलाई व्यवहारिक जीवनसँग जोड्न सक्ने शिक्षकले विद्यार्थीलाई आत्मनिर्भर, उत्तरदायी, र सचेत नागरिकका रूपमा रूपान्तरण गर्छन्।
२१औँ शताब्दीको शिक्षक भावनात्मक रूपमा संवेदनशील हुनुपर्छ। हरेक विद्यार्थीको पृष्ठभूमि, सिकाइको गति, र मनोवैज्ञानिक अवस्था फरक हुन्छन्। शिक्षकले यी विविधतालाई स्वीकार गर्दै विद्यार्थीको भावना बुझ्न, सहानुभूति प्रकट गर्न र आवश्यक सहयोग गर्न सक्नुपर्छ। यस्तो शिक्षकले कक्षामा विश्वास, आदर, र आत्मीयता स्थापना गर्छ, जहाँ विद्यार्थी स्वतन्त्र रूपमा सोच्न र सुधार गर्न प्रेरित हुन्छन्।
शिक्षक सहकार्य र साझेदारीमा विश्वास राख्ने व्यक्ति हुन्। उनले अभिभावक, विद्यालय प्रशासन, सहकर्मी शिक्षक, र समुदायका अन्य सरोकारवालासँग मिलेर शिक्षालाई साझा जिम्मेवारीका रूपमा अगाडि बढाउँछन्। सहकार्य र टीम–स्पिरिट भएका शिक्षकहरूले विद्यालयलाई केवल अध्ययनको स्थान होइन, सीप विकास, मूल्य अभिवृद्धि, र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्न सक्छन्। जब शिक्षकहरू अनुभव बाँड्छन्, स्रोत साझा गर्छन्, र सामूहिक दृष्टिकोणका साथ अघि बढ्छन्, तब विद्यालयमा प्रगतिशील सोच, सकारात्मक ऊर्जा, र परिवर्तनमुखी संस्कृति निर्माण हुन्छ।
शिक्षक तालिम कार्यक्रमहरूमा डिजिटल साक्षरताको समावेश, एआई उपकरणको प्रयोगमा दक्षता विकास, र प्रविधिको नैतिक प्रयोगबारे सचेतना अत्यावश्यक छ। शिक्षण पेशालाई समयानुकूल बनाउँदै लैजान यस्ता पहलहरू अपरिहार्य छन्।
नैतिक र सामाजिक उत्तरदायित्व
नेपालमा शिक्षकलाई समाजका आदर्श व्यक्तित्वका रूपमा हेरिन्छ। उनीहरू केवल विद्यार्थीका मार्गदर्शक मात्र होइनन्, समुदायका नैतिक नेता पनि हुन्। त्यसैले शिक्षकको प्रत्येक व्यवहार, निर्णय र कार्यले विद्यार्थीको सोच, विद्यालयको संस्कार, र समाजको धारणामा प्रत्यक्ष प्रभाव पार्छ। एक शिक्षकले बोलेको शब्द, देखाएको आचरण, र अपनाएको दृष्टिकोणले भविष्यको पुस्तामा नैतिकता र जिम्मेवारीको चेतना जगाउन सक्छ।
२१औं शताब्दीमा शिक्षकको भूमिका केवल ज्ञान हस्तान्तरणमा सीमित छैन; उनीहरूले सत्यनिष्ठा, पारदर्शिता, र उत्तरदायित्व आत्मसात गर्नुपर्छ। शिक्षकले आफ्नो कार्यप्रति समर्पण, इमानदारी र निष्पक्षतासहित समाजमा सकारात्मक सोच, सहिष्णुता, र राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्छ। उनीहरू शिक्षणमार्फत समाजमा भरोसा, आदर, र सहयोगको भावना निर्माण गर्ने माध्यम बन्नुपर्छ।
सत्य, न्याय, मैत्री, र हित रोटरिमा जस्तै शिक्षकका लागि पनि आचरणको आधारभूत सूत्र हुन्। शिक्षकले सत्य बोल्ने, सबैका लागि न्यायपूर्ण व्यवहार गर्ने, विद्यार्थी र सहकर्मीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने, र हरेक कार्यमा सामूहिक हितलाई प्राथमिकता दिने गुण विकास गर्नुपर्छ। यस्ता मूल्य र आचरणले शिक्षकको पेशागत इमानदारी मात्र होइन, सम्पूर्ण शिक्षण समुदायको गरिमा र विश्वसनीयता पनि बढाउँछ। यसरी नै शिक्षक समाजमा विश्वास, प्रेरणा, र नैतिक जागरणका प्रतीकका रूपमा स्थापित हुन्छन्।
शिक्षकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक दलहरूसँग आवद्ध हुँदा शिक्षा क्षेत्रको निष्पक्षता र गुणस्तरमा नकारात्मक असर पर्न सक्छ। शिक्षण, अनुसन्धान र विद्यार्थी विकासमा ध्यान दिनुको सट्टा दलगत गतिविधिमा संलग्न हुँदा विद्यालयको सन्तुलन कमजोर हुन्छ। दलगत राजनीति गर्नु शिक्षकको पेशागत मर्यादासँग मेल खाँदैन। यसले शैक्षिक नीति, नेतृत्व चयन, र निर्णय प्रक्रियामा पक्षपात बढाउँछ। विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राखी शिक्षणलाई सेवा र जिम्मेवारीका रूपमा लिन सकिए मात्र शिक्षा क्षेत्रमा वास्तविक सुधार सम्भव हुन्छ।
निरन्तर सिकाइ
शिक्षक स्वयं पनि एक विद्यार्थी हुन्। फरक केवल यो हो कि उनी निरन्तर सिक्ने र आत्मविकासको अभ्यास गर्दै अघि बढ्छन्। २१औं शताब्दीको तीव्र परिवर्तनशील संसारमा ‘नसिक्ने शिक्षक’ शिक्षण पेशाबाट क्रमशः अलग्गिन्छन्। नयाँ ज्ञान, प्रविधि, र शिक्षण पद्धतिहरूसँगै अघि बढ्न सक्ने शिक्षक मात्र समयसापेक्ष र प्रभावकारी रहन सक्छन्।
शिक्षकहरूका लागि निरन्तर सिकाइ अब विकल्प होइन, आवश्यकता बनेको छ। सेमिनार, कार्यशाला, अनलाइन कोर्स, वेबिनार र सहपाठी सिकाइजस्ता माध्यमहरू मार्फत शिक्षकले आफ्नो व्यावसायिक क्षमतामा निखार ल्याउन सक्छन्। यस किसिमको अभ्यासले उनीहरूलाई नयाँ शिक्षण रणनीति, मनोवैज्ञानिक दृष्टिकोण, र प्रविधि–आधारित विधिहरू अपनाउन सक्षम बनाउँछ।
शिक्षणलाई जीवनभरको यात्रा मान्ने शिक्षक नै प्रेरणादायी हुन्छन्। निरन्तर सिकाइमा विश्वास गर्ने शिक्षकले आफूमा विनम्रता, जिज्ञासा, र आत्म–परिवर्तनको भावना कायम राख्छन्, जसले उनलाई समयअनुकूल, समर्पित, र प्रभावकारी बनाउँछ। जीवनभरको सिकाइ केवल व्यक्तिगत विकासको साधन मात्र होइन, यो शिक्षणको आत्मा हो।
राज्य र समाज दुवैले शिक्षकको भूमिकालाई केवल पाठ पढाउने जिम्मेवारीमा सीमित नराखी, राष्ट्र निर्माणका सह–निर्माताको रूपमा सम्मान गर्नुपर्छ। जब शिक्षकलाई नीति, स्रोत, र प्रेरणाले सशक्त बनाइन्छ, तब उनीहरूको योगदानले शिक्षालाई मात्र होइन, देशकै भविष्यलाई नयाँ दिशा दिन सक्छ।
निष्कर्ष
२१औं शताब्दीको नेपालले चाहेको शिक्षक त्यो हो, जो ज्ञान र मूल्य दुवैको समन्वय गर्न सक्छ, जो विद्यार्थीमा केवल परीक्षा पास गर्ने सोच होइन, जीवन बुझ्ने दृष्टि जगाउँछ, जो डर होइन, आत्मविश्वास र साहस भरिदिन्छ, र जो शिक्षणलाई समाज रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्न जान्दछ।
शिक्षकले आफ्नो भूमिकालाई केवल जागिर वा दायित्वको रूपमा होइन, जीवन दर्शनका रूपमा लिन सक्नुपर्छ। जब शिक्षकले कक्षाभित्र र बाहिर दुवै स्थानमा प्रेरणाको स्रोत बन्न सिक्छन्, तब शिक्षा केवल पाठ्यक्रममा सीमित रहँदैन, त्यो मानवता, सृजनशीलता र सह–अस्तित्वको अभ्यास बन्छ।
जुन दिन हाम्रा विद्यालयहरूमा यस्तो सोच, यस्ता शिक्षक र यस्तो संस्कृति स्थापित हुन्छ, त्यस दिनदेखि नेपालको शिक्षा प्रणाली साँच्चै रूपान्तरणको यात्रामा प्रवेश गर्नेछ र देशको भविष्य उज्यालो दिशातर्फ अघि बढ्नेछ।
(लेखक बराल शिक्षा, वातावरण, सूचना प्रविधि तथा समसामयिक विषयमा कलम चलाउछन्।)

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































