काठमाडौँ – सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार संसद्विरुद्ध लागेको भन्दै आक्रोश पोखेका छन्।
मंगलबार आफ्नै कार्यकक्षमा संसदीय पत्रकारहरुसँगको भेटमा सभामुख घिमिरेले संसद्लाई हेर्ने कार्की नेतृत्वको सरकारको दृष्टिकोण गलत भएको टिप्पणी गरेका हुन्। उनले भने, ‘बुझेर वा नुबझेर हो, सभामुखको रूपमा के देखेको छु यो सरकार संसद्लाई कसरी कमजोर पार्न सकिन्छ भन्ने काममा लागेको छ। जुन बेठिक छ।’
आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए।
उक्त विघटनबाट असन्तुष्ट बनेका सभामुख घिमिरे सरकारले संसद्का पदाधिकारी र सांसदहरुको स्वकीयको सुविधा कटौती गरेपछि थप रुष्ट बनेका हुन्। उनले सरकार व्यवस्थाकै विरुद्धमा लागेको टिप्पणी गरे।
घिमिरेले पत्रकारहरुसँग भने, ‘विशेष परिस्थितिमा संसद् भंग गरिएको छ। तर राष्ट्रिय सभा विद्यमान छ। कानुनी प्रबन्धले सभामुख र उपसभामुख पनि छौँ। तर पनि संसद्लाई कसरी काम गर्न अप्ठ्यारो पार्न सकिन्छ भन्ने हिसाबले सरकारले निर्णय गरिरहेको छ। हाम्रो व्यवस्था र राष्ट्रको उन्नतिको खिलाफमा छ।’

सरकारले संघीय संसद्का पदाधिकारी तथा सांसदहरुको स्वकीय सचिवको सुविधा कटौती गरेपछि सोमबार सभामुख घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा रानामगरसहितका पदाधिकारीले प्रधानमन्त्री कार्कीलाई सामूहिक रुपमा भेटेर सुविधा कटौतीको विरोध गरेका थिए।
आफूहरुले निर्णय फिर्ता लिएर संसद्लाई सहज रुपमा चल्न दिन आग्रह गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। उनले भनिन्, ‘हामीले स्वकीय सुविधा काट्न हुँदैन भन्यौँ।’ प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनालसँग बुझेर निर्णयबारे छलफल गर्ने बताएको सभामुख घिमिरले जानकारी दिए।
अर्थमन्त्री खनालले स्वकीय सचिवहरूका कारण भ्रष्टाचार बढेको दाबी गरेका थिए। सांसद तथा विभिन्न निकायका पदाधिकारीहरुले आफ्ना स्वकीयलाई भ्रष्टाचारजन्य काम गर्न लगाउने गरेकाले आवश्यक नभएको तर्क गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































