- परराष्ट्र मन्त्रालयले ११ राजदूतलाई पत्राचार गर्दै तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ।
- सर्वोच्च अदालतको निर्णयपछि मन्त्रिपरिषद् बैठकले जारी हवाई टिकटमै राजदूतहरुलाई नेपाल बोलाउने निर्णय गरेको हो।
- सरकारलाई राजनीतिक रूपमा नियुक्त भएका राजदूतहरूमा विश्वास नभएको भन्दै तिनीहरूलाई फिर्ता बोलाइएको जनसम्पर्कमा उल्लेख छ।
परराष्ट्र मन्त्रालयले विभिन्न ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेपछि ती राजदूतहरू अन्यौलमा परेका छन्।
परराष्ट्र मन्त्रालयले सोमबार यसअघि फिर्ता बोलाइएका ११ राजदूतहरूलाई पत्राचार गर्दै कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्न निर्देशन दिएको हो।
सरकारले फिर्ता बोलाएका ११ राजदूतको हकमा सर्वोच्च अदालतले आइतबार उनीहरूलाई जिम्मेवारीबाट नहटाउन अन्तरिम आदेश जारी गरेपछि परराष्ट्र मन्त्रालयले उनीहरूलाई मन्त्रालयमै उपस्थित हुन भनेको हो।
प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय सोमबारको बैठकबाट उनीहरूलाई यसअघि जारी भएकै हवाई टिकटमा नेपाल आउन भनिएको थियो।
पत्रमा भनिएको छ- ‘महामहिमज्यूलाई अर्को व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी नेपाल बोलाउने मिति २०८२/७/१७ मा निर्णय (सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय) भएको बेहोरा जानकारी एवम् आवश्यक कार्यार्थ अनुरोध छ । साथै, नेपाल आउनका लागि महामहिमज्यूको नाममा यस अघि जारी भएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुनसमेत सोही निर्णयअनुसार सादर अनुरोध छ ।’
अधिवक्ताहरू प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले दायर गरेको रिटमा न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित,मलेसियाका डा.नेत्रप्रसाद तिमल्सिना,कतारका रमेशचन्द्र पौडेल, रुसका जङ्गबहादुर चौहान,साउदी अरबका नरेशविक्रम ढकाल,स्पेनका शनिल नेपाल,संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिका (अमेरिका)का लोकदर्शन रेग्मी र जापानका डा.दुर्गाबहादुर सुवेदी छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालले सोमबार ट्विटरमा एक स्टाटस लेख्दै सरकारले राजनीतिक नियुक्ति भएका राजदूतहरुलाई फिर्ता बोलाउनुको अर्थ सरकारलाई यी राजदूतमा विश्वास नभएको बताएका छन्। ‘यी राजदूतले सरकारकाे प्रतिनिधित्व गर्न सक्दैनन्। अब बाँकी कुरा…’ उनले लेखेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































