- नाम्खा गाउँँपालिका–६ को लिमीमा ७५ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहनुको मुख्य कारण चीनको ताक्लाकोटमा कामको अवसर हो।
- हाल लिमीका गाउँहरूमा मुख्यत: ज्येष्ठ नागरिक र बालबालिका बसोबास गर्दैछन्, र धेरैजसो युवाहरू चीनतिर काम गर्न गएका छन्।
- लिमीका वडाध्यक्षले खेती छोडेर चीनमा काम गर्न बढ्दो प्रवृत्तिका कारण गाउँको अधिकांश जमिन बाँझो रहन लागेको बताए।
हुम्ला – नाम्खा गाउँँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा ७५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ। केहीले गाउँ छोडेर जानु र बाँकीमध्ये अधिकांशले खेतीपाती गर्नुभन्दा पनि चीनको ताक्लाकोट गएर काम तथा ब्यापार गर्दा बढी फाइदा हुने भन्दै आफ्नो खेतीयोग्य जग्गा बाँझो राखेको हो।
लिमीका तीन गाउँमध्ये सबैभन्दा बढी मानिस बस्दै आएको हल्जी गाउँका फुन्जोक लामाले गत वर्षसम्म सबै जग्गामा खेती गर्ने आफ्नो गाउँवासीले यस वर्ष जम्मा २५ प्रतिशत जग्गामा खेती लगाएको बताए। उनले हालसम्म तीन घरधुरीले मात्र गाउँ छाडेको र बाँकी स्थानीयले पनि खेती गर्नुभन्दा चीनको ताक्लाकोटमा गएर काम गर्दा बढी फाइदा हुने बताए। उवा र नाफल राम्रो उत्पादन हुने हल्जी गाउँँको खेतीयोग्य जमिन बाँझो रहन थालेकोमा उनले चिन्तासमेत ब्यक्त गरे। हल्जी गाउँमा ९२ घरधुरी छन्। गाउँमा बस्ने ज्येष्ठ नागरिक र बालबालिका मात्र बस्दै आएका छन्।
त्यसैगरी, तिल गाउँका स्थानीय काछोमु तामाङ पनि अधिकांश खेतीयोग्य जग्गा बाँझो रहेको बताए। उनले गाउँ छोड्ने तिलका स्थानीय बढ्दै जानु र बाँकी पनि कामका लागि ताक्लाकोट जाने संङ्ख्या बढेको कारण खेतीपाती गर्न छोडिएको बताए।
उवा राम्रो फल्ने तिलको जग्गामा हाल अधिकांश जमिन बाँझो र झारपात उम्रेर जग्गै नभएजस्तो देखिँदै आएको छ। ६३ घरधुरी रहेको तिल गाउँमा हाल २३ घरधुरी मात्र बस्दै आएको र बस्नेमध्ये पनि वृद्धवृद्धा र तीन जना बालबालिका मात्र गाउँमा बस्दै आएका छन्।
यता, ४४ घरधुरी भएको जाङ गाउँँमा पनि हाल तीन घरधुरी मात्र बस्दै आएका छन्। उनीहरूले पनि उवा बाली नलगाएर आलु र साग मात्र फलाएको उक्त गाउँका नैक्याप तामाङले बताए। उनले खेती गरेर आठ महिना खाना नपुग्ने भएपछि हाल गाउँमा बस्दै आएका पनि खेती छोडेर ताक्लकोटमा काम गर्न गरेका छन्।
खेती गरेर खाना पुग्ने र नपुग्ने परिवार पनि अब खेती भन्दा पनि ताक्लाकोट गएर काम गरेर कमाई गर्दा फाइदा हुने देखेपछि जग्गा बाँझिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङको भनाइ छ। लिमीमा खेतीयोग्य जमिनमध्ये ७५ प्रतिशत जग्गा बाँँझो छ। ग्त वर्षसम्म लिमीका तीन गाउँमध्ये जाङमा मात्र खेतीयोग्य जग्गा बाँझो रहने गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































