काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनमा सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गरे।
जलाउनेहरुले नै देश चलाउने तमासा देखाइरहेको ओलीको भनाइ थियो। उनले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै। एउटा तमासा देखिएको छ। जसले जलाउने त्यसले चलाउने। यस्तो तमासा भइराखेको छ। जलाउनुका पछाडि पनि यिनै थिए। मैदानमा देखिएका थिए। मैदान एक–एक फिट माथि बुरुक्क उफ्रिएकै थिए। अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन्। जो संविधानले मिल्दै मिल्दैन, हुँदै हुँदैन भन्छ।’
ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































