
पोखरा – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिलेको सरकारले जनतामा निराशा बाहेक केही दिन नसकेको बताएका छन्।
विवेकशील साझा पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति दुईतिहाई बहुमतको शक्तिशाली सरकारले काम गर्न नसक्दा जनतमा निराशा आएको बताएका हुन्।
मिश्रले अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोश दिएर बस्नु बिडम्बना भएको बताए। आलोचना सुन्न सक्ने क्षमता गुमाएको र कार्यकर्तालाई उत्तेजित बनाउँदै बसेको आरोप लगाए। उनले भने, ‘सरकारको कार्यशैलीमा पूरै फेल भइसकेको छ।
मिश्रले प्रमुख प्रतिपक्षी दलको पनि आलोचना गरे। ‘प्रतिपक्षको भूमिका पनि सशक्त भएन जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति अबको विकल्प हो,’ उनले भने, ‘अब त जनताको भ्रम चिरिँदै गएको छ, विवेकशील साझाले नै जनताको पार्टी बन्नेछ।’
प्रदेशको विकासका लागि अवधारणासहित आउँछुः भण्डारी
विवेकशील साझा पार्टीका गण्डकी संयोजकको जिम्मेवारी ग्रहण गरेका महेश भण्डारीले संगठन विस्तार गरी गण्डकी प्रदेशको विकासका लागि प्रभावकारी काम गर्ने बताएका छन्।
उनले संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। जिल्ला, नगर हुँदै स्थानीयस्तरसम्मको संगठन निर्माणका लागि आफू अबका दिनमा खटिने बताए।
भण्डारीले भने, ‘विवेकशील साझाको नेतृत्वको रुपमा यस क्षेत्रमा रहेका विभिन्न समस्याहरुको उजागर गर्दै विकासका अवधारणा अघि सार्नेछु।’