
काठमाडौँ – अस्पताल भर्ना भएको साढे १३ घण्टापछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला रिपोर्टहरुमा उनको स्वास्थ्य सुधारोन्मुख र स्थिति स्थिर रहेको छ।
चिनीको मात्र उच्च, श्वासप्रश्वासमा कठिनाई, छाती घ्यारघ्यार हुँदा र खोकी लागिरहेपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे त्रिभुवन विश्व विद्यालय अन्तगर्तको मनमोहन कार्डियो भास्कुलर थेरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
लामो निगरानी र उनका विभिन्न स्वास्थ्य रिपोर्टहरुले शरीरमा चिनीको मात्रामा नियन्त्रण गर्न सकिएको र उनलाई श्वासप्रश्वासमा सहज भएकाले स्वास्थ्यमा सुधार आएको भन्न सकिने चिकित्सकले जनाएका छन्।
प्रधानमन्त्री ओलीको उपचारको संयोजन गरिरहेका सेन्टरका कार्डियोलोजी विभागीय प्रमुख एवं मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार सोमबार जाँच गरिएका अन्य रिपोर्टहरु पनि सामान्य छन्।
डा. सायमीले भने, ‘प्रधानमन्त्रीका स्वास्थ्य रिपोर्टहरुमा सुधार देखिन्छ, तर अवस्था स्थिर छ, अझै निगरानी गर्नुपर्ने देखिन्छ, त्यसैले मंगलबार केही थप भन्न सकिएला।’
सायमीले प्रधानमन्त्रीको उपचारमा सबै प्रयासहरु गरेको उल्लेख गरे। उनले भने, ‘उहाँलाई विदेश जाने अवस्था सकेसम्म आउने छैन।’
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँका पछिल्ला रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइन्छ।’
सन् २००७ सालमा भारतको एप्पोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यसयता स्वास्थ्यमा सचेत भएको भनिएपनि पटकपटक प्रत्यारोपणका प्रतिअसर र अन्य समस्या झेलेका छन्।
पछिल्लो समय दसैँका बेला बाक्लिएको ओलीको भेटघाट र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम चलिरहेका बेला उनलाई मौसमी रुघाखोकी देखा परेको थियो।
चिकित्सकको सल्लाह विपरीत उनले भेटघाट र दौढधुप बन्द नगरेपछि उनको छाती खराब बन्दै गएको थियो।
तीन दिनअघि अर्थात शनिबारमा उनको पार्टीले चियापान आयोजना गरिरहेका बेला छाती घ्यारघ्यार हुने, निरन्तर खोकी लाग्ने र ज्वरो आउन थालेपछि सोही सेन्टरमा जाँचका लागि प्रधानमन्त्री ओलीलाई लगिएको थियो।
चिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेका उनलाई सोमबार राति श्वासप्रश्वासमा कठिनाई आएपछि बिहान साढे ४ सेन्टर पुर्याइएको थियो।
अस्पताल भर्ना गरेलगत्तै शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न सेन्टर पुगेका थिए। भेट गर्न चाहनेहरु बढ्न थालेपछि सेन्टरले त्यसमा कडाई गरेको छ।
सोमबार राति नसुतेका प्रधानमन्त्री ओलीलाई आरामको आवश्यकता भएकाले उनीसँगको भेटघाटमा कडाई गरिएको निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहले बताएकी छिन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य खासगरी डा. शाह, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र डा. सायमीले निगरानी गरिरहेका छन्। उनीहरु मंगलबार बिहान १० बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तयारीमा छन्।