
काठमाडौँ (महाराजगञ्ज) – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा तीव्र रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा भएको पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा. अरुण सायमीले ओलीको स्वासप्रस्वासमा समस्या नरहेको बताएका हुन् । डा. सायमीले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली ज्युको रक्तचाप र मधुमेह पनि नियन्त्रणमा आएको छ । मृगौला र मुटुमा कुनै समस्या छैन ।’
छातीको संक्रमण कम गराउनका लागि एन्टिबायोटिक चलाइएको डा. सायमीले बताए । ओलीको स्वास्थ्यमा सुधार भइरहेको र उनले बिहान ब्रेकफास्ट खाएको पनि बताए । उनी अहिले फ्रेस देखिएका छन् र ज्वरो पनि आएको छैन ।
स्वास्थ्यमा सुधार भए पनि निगरानी गर्नु पर्ने भएकाले ओली अझै दुई दिन अस्पताल बस्ने डा. सायमीले बताएका छन् । उनको स्वास्थ्य अवस्था बारे बेलुका पाँच बजे फेरि पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि बताइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको हो ।
ओलीको रगत परीक्षण र छातीको एक्स रे को रिपोर्ट नर्मल आएको डाक्टरले बताए । ओली अहिले अस्पतालमा चिटिक्क परेर बसेका छन् । उनले दाह्री काटेका छन् र हँसिला देखिएका छन् ।