
काठमाडौँ- पाँच वर्षअघि राजधानीको गुर्जुधारामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’लाई अज्ञात समूहले गोली प्रहार गर्यो। त्यसको केही दिनपछि धादिङका चर्चित गुन्डा राधे भन्डारीले घटनाको जिम्मा लिँदै आत्मसमर्पण गरेका थिए। राधे कुनै समय चरीकै लागि काम गर्थे। तर पछि उनी राजधानीका चर्चित डनद्धय समिरमान सिंह बस्नेत र कुमार घैँटेका लागि काम गर्न थालेका थिए।
बयानमा राधेले आफूले प्रयोग गरेको पेस्तोल चरिको उल्लेख गरेपछि अस्पतालबाटै चरीलाई पनि हिरासतमा लिइएको थियो। त्यसको एक वर्षपनि बित्न नपाउँदै चरीको समूहले बालाजुमा साँझ पार्टी मनाइरहेका राधेलाई धारिलो हतियार प्रहार गर्यो। राधे गम्भीर घाइते भए।
राधे र चरी दुवै धादिङका हुन्। चरीलाई गोली हानेको राधेले स्विकारे पनि खासमा अमरबहादुर राना संलग्न रहेको खुलेको छ। १ वर्षअघि भएको शरद गौचन हत्यामा अमरलाई केही दिन अघि मात्र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। अमर आर्मीका भगौडा हुन्। चरीलाई गोली हान्दा अमरले आर्मीको जागिर छाडिसकेका थिएनन्। पुर्व आर्मी भगौडा श्याम गुम्बेमार्फत अमर समिर-घैँटे समुहको सम्पर्कमा पुगेका थिए। ‘त्यतिबेला अनुसन्धान वृस्तित भएन। नत्र भने समिर त्यतिबेलै पक्राउ पर्ने थिए। तर समिरले आफू जोगिन राधेलाई प्रयोग गरे ‘, महाशाखाका एक अधिकारी भन्छन्। चरी र समिर-घैँटेबीच लामो समयदेखि सम्बन्ध राम्रो थिएन। करिब एक वर्षको अन्तरमा चरि र त्यसपछि घैँटे प्रहरी इनकाउन्टरमा मारिएका थिए।
तीन वर्षअघि घैँटे प्रहरी इनकाउन्टरमा मारिएपछि भारततर्फ लागेका समिरले त्यहाँ रहेका रुपन्देहीका मनोज पुनसँग मिलेर नेपालमा चन्दा आतङ्क मच्चाउन थालेका थिए। दुई वर्षअघि रुपन्देहीमा भएको युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या मनोजको योजनामा समिरले आफ्ना बडिगार्ड सरहका लोप्साङ लामालाई सुटरका रुपमा प्रयोग गरेको प्रहरी स्रोत बताउँछ।
नेपालमा फोन गरेर हत्याको जिम्मा मनोजले लिएका थिए। मनोज कुनै समय युवा संघकै कार्यकर्ता भएपनि ठेक्कापट्टा विषयमा दुर्गासँग उनको विवाद थियो। दुर्गाको हत्यापछि काठमाडौँमै लुकेर बसेका लोप्साङ त्यसपछि भारत पुगेका थिए। त्यसयता नेपालमा गोली प्रहार गर्ने जिम्मेवारी अमरले पाएका थिए।
‘गोली हान्नुपर्ने हरेक मान्छे खतरनाक हो र यसलाई मार्दा धेरै फाइदा हुन्छ भनेर मलाई चिनाइन्थ्यो’ प्रहरीसँग अमरको बयान उल्लेख गर्दै महाशाखा स्रोतले भन्यो। महाशाखाको टोलीले समिर निकट मानिने जशवन्त राईलाई गोली हानेपछि यो समूह एक चिकित्सकलाई मार्ने योजनामा पुगेको पनि स्रोत बताउँछ।
‘ट्रमा सेन्टरका चिकित्सकले जशवन्तको खुट्टा काट्नुपर्ने बताएपछि समिर समूह आक्रोशित भएको बुझिन्छ। त्यसपछि जशवन्तलाई ग्रान्डी अस्पतालमा लगिएको थियो। ती चिकित्सकलाई गोली हान्न आफु नजिकै पुगेपनि असफल भएको अमरले बताएका छन्। मार्नु पर्ने मान्छे डाक्टर भएको देख्दा आफु छक्क परेको उनको भनाई छ’, स्रोत भन्छ। गुन्डा नाइके दावा लामालाई २०७४ बैशाखमा नयाँ बस्ती बौद्धमा समिरकै योजनामा अमरले गोली प्रहार गरेका थिए।
त्यतिबेला लोप्साङले फोन गरि मनोज पुन समुहले गोली प्रहार गरेको बताएका थिए। त्यसको केही महिनापछि नेपाल निर्माण व्यवशायी महासंघका अध्यक्ष शरद गौचनको राजधानीको शान्तीनगरमा गोली हानी हत्या गरिएको थियो। यो घटनामा पनि लोप्साङले फोन गरि जिम्मेवारी लिएका थिए। दुवै घटनामा अमरले गोली प्रहार गरेको खुलेको छ। प्रहरीसँगको सोधपुछमा अमरले भनेका छन्- दुवै घटनामा मलाई समिरकी श्रीमतीले पेस्तोल दिएकी हुन्। घटनापछि मैले उनैलाई पेस्तोल बुझाएको हुँ।
गौचन हत्याको केही महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले समिरलाई भारतबाट पक्राउ गर्यो। त्यसको करिब दुई महिनापछि मनोज पुन र सोम आलेलाई चितवनमा प्रहरीले इनकाउन्टर गरेको थियो। उनिहरुलाई भारतबाट पक्राउ गरि नेपालमा ल्याएर फेक इनकाउन्टर गरिएको बताइन्छ। ‘समिरलाई किन समातेर ल्याईयो अनि मनोज पुनलाई किन इनकाउन्टर गरियो ?’ महानगरीय प्रहरी कार्यालयका एक अधिकारी भन्छन्,’ यो रहस्यमय छ। जबकी गिरोहका नाइके समिर देखिन्छन्। ‘ केही उच्च प्रहरी अधिकारीहरुसँग समिरको सम्बन्ध राम्रो रहेको बताइन्छ। स्रोतका अनुसार पक्राउ परेपछि समिरले गौचन हत्याकान्डमा आफ्नो कुनै भुमिका नरहेको बताएका थिए।
‘ गौचनसँग मेरो कारोबार थियो तर उनलाई मार्न भनेर कसैलाई निर्देशन दिएको थिएन’, समिरको बयान उदृत गर्दै एक उच्च प्रहरी अधिकृत भन्छन्। समिर पछिल्लो समय जेलमा रहेपनि आपराधिक घटनाका योजनामा उनको पनि भुमिका रहने गरेको प्रहरी बताउँछन्। ‘ कारागारमा उनलाई भेट्नेको संख्या दिनदिनै बाक्लिएको थियो। अर्कोलाई भेट्ने गरि छिरेकाहरुको सम्पर्क समिरसँग पनि देखिन्थ्यो। उनलाई त्यत्तिकै मुस्ताङ कारागार सारिएको होइन’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्।
मनोज पुनको इनकाउन्टर र समिरमान जेल परेपछि यो गिरोहका सदस्यलाई छिन्नबिन्न र एकत्रित हुँदै पुन आपराधिक घटनाको योजनामा लागेको थियो। यसबीचमा लोप्साङ,अमर र रोशन बुढाथोकी काठमाडौँस्थित समिरको पुरानो घरमा एक महिनाभन्दा बढी समय बसेको र त्यसपछि दोलखामा पुगेर केही महिना बसेको अनुसन्धानबाट खुलेको छ। उनिहरु गाउँ छिरेर विभिन्न भेषमा काम गर्ने गरेको र असुरक्षित महसुस गरेपछि फेरी भारततर्फ लागेको स्रोत बताउँछ। ‘ दोलखामा केहि मान्छेसँग उनिहरुको सम्पर्क पत्ता लगाएर प्रहरी यी तीन जना नजिक पुगेको हो’, स्रोत भन्छ। करिब एक महिनाको मिहेनतपछि प्रहरीले तीनै जनालाई भारतको सिक्किम क्षेत्रबाट पक्राउ गरेको हो।
‘ यो गिरोहका नाइके नै समिर हुन् तर मनोज पुनलाई अगाडि उभ्याएर समिर आफू जोगिन खोजेजस्तो देखिन्छ। तर अब सजिलो छैन’, महाशाखाका एक अधिकारी भन्छन्। पक्राउ परेका तीनै जनाले समिरकै निर्देशनमा आफुले काम गर्ने गरेको बताएका छन्। प्रहरीले उनिहरुको बयानका आधारमा समिरकी श्रीमती माया शेरचनलाई पनि अनुसन्धानमा तान्ने तयारी गरेको छ।