
पोखरा : पूर्वप्रधानन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमितिले देशभरका विमानस्थलको अध्ययन सुरु गरेको छ ।
प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको असोज १२ गते बसेको बैठकले नेपालको संयोजकत्वमा उपसमिति गठन गरेर देशभरका विमानस्थलको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न दुई महिनाको समय दिएको थियो ।
उपसमितिले बिहीबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलबाट अध्ययन सुरु गरेको उपसमितिका सदस्य दिव्यमणि राजभण्डारीले जानकारी दिए । विमानस्थलको निरीक्षण गर्दै उपसमितिले नेपालले निर्माण कार्य तोकिएको समय अगाडि नै सक्न निर्माण कम्पनीलाई निर्देशन दियो ।
नेता नेपालले गुणस्तरीयतामा ध्यान दिन चिनियाँ निर्माण कम्पनी सिएएमसीका प्रतिनिधिलाई सुझाव दिए । उपसमितिलाई भौतिक निर्माणका कार्यहरु १७ प्रतिशत पूरा भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख ईन्जिनियर विनेश मुनकर्मीले ब्रिफिङ गरे ।
उनले निमार्ण कार्य तीव्र रुपमा भएको र समय भित्रै निमार्ण सम्पन्न गर्ने प्रतिबद्धता उपसमिति समक्ष गरेका छन् ।
सन् २०१६ अप्रिल १३ मा शिलान्यास भएको विमानस्थल २०२१ जुलाई १० सम्पन्न गर्ने सम्झौता छ । निर्माण सुरु भएको दुई वर्षमा १७ प्रतिशत भौतिक संरचना निर्माणको काम सहिएको हो ।
उपसमितिले विमानस्थलका सरोकारवाला र मुआब्जा संघर्ष समितिसँग पनि छलफल गरेको छ । स्थानीय बासिन्दा आफूहरुले माग गरेअनुसारको मुआब्जा छिटो उपलब्ध गराइ दिन आग्रह गरेका थिए ।
उपसमितिले फेवाताल अतिक्रमण गरी निर्माण गरिएको कर्णशाक्यको होटलबारे पनि जानकारी लिइको छ । चार नम्बर प्रदेशका सांसद राजीव पहारीले फेवातालको बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।
उपसमितिले निर्माणाधीन निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि स्थलगत अध्ययन गर्ने जनाएको छ ।