
पोखरा – पर्यटकीय नगरी पोखरामा पश्चिमाञ्चल होटल संघ (हान) पोखराले १२औँ भाइटीका महोत्सवको आयोजना गर्ने भएको छ। विगत वर्षहरुझैं यसपटक पनि तिहारको अवसरमा पोखराको लेकसाइडमा महोत्सव आयोजना गर्न लागिएको हो।
स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्य महोत्सवको आयोजना गरिएको हानका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन्।
तुलाचनले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको बताए। भाइटीका महोत्सवमा पर्यटक पनि उत्तिकै रमाउने गरेकाले पनि यस महोत्सवलाई निरन्तरता दिइएको उनले बताए।
भाइटीकाकै दिन अपरान्ह दुई बजेबाट सो भाइटीकाको कार्यक्रम गरिने आयोजकले जनाएको छ। नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउसीभैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खुवाएर मनाइने छ।
महोत्सवमा सहभागिताका लागि पर्यटकहरुले नाम दर्ता गर्नुपर्ने महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन्।
लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टर लेकसाइडस्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने उनले बताइन्।
कार्यक्रमको लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ। गत वर्ष १३ देशका ३५ पर्यटकले भाइटीका लगाएका थिए।