
डाँगीबारी (झापा)- आइतवार दिउँसो झापाको बाह्रदशी गाउँपालिका-६ डाँगीबारी पुग्दा स्थानीयबासी जयनारायण उप्रेतीलगायत दर्जनौं स्थानीयबासी २०३० सालदेखि जोतभोग गर्दै आएको तर हाल खोसिएको जमिनको डिलमा बसेर टोलाइरहेका थिए। उनी लगायत ६ परिवारले कमाउँदै आएको ६ विगाह जमिन यसैबर्षदेखि खोसिएपछि उनीहरु निराश देखिएका थिए।
जबदेखि उनीहरुले उक्त जमिन कमाउँदै आए सोही दिनदेखि बर्षेनी ठेक्का बुझाउँदै आएको उप्रेतीले बताए। तर उक्त जमिनको स्वामित्व अहिले आएर नेपाली सेनाको एकजना जर्नेलकी श्रीमतीकहाँ पुगेपछि उक्त गाउँका बासिन्दा निराश मात्र होइन त्रसित पनि बनेका छन्।
जग्गाधनी मुना उप्रेतीका अनुसार उनलाई उक्त जमिन बुवाले उनको विहे नै नभइ रजिस्ट्रेसन पास गरिदिएका थिए। मुना भन्छिन्, ‘मेरा पनि छोरा छोरी छन्। मेरो जमिन खोज्ने अधिकार छ कि छैन?’
जमिन जोतभोग गर्दै आएका गाउँलेका अनुसार उनीहरुले वातावरण सहज हुन्जेल बर्षेनी ठेक्का तिर्दै आएका थिए। जुनबेलादेखि माओवादी सशस्त्र संघर्षका कारण ठेक्का बुझाउन सहज वातावरण बनेन त्योबेलादेखि उनीहरुले ठेक्का बुझाउन पाएनन्। स्थानीयबासी सावित्रा उप्रेती भन्छिन्, ‘जब माओवादीले ठेक्का तिर्न बन्देज लगाए हामीले ठेक्का बुझाउने ठाउँ पाएनौं। अहिले बुझाउँछौं भन्दा उल्दै हामीलाई जग्गा जोतभोग गर्नबाट बन्चित गराइयो।’ उनीहरुबाट जग्गा खोसिएपछि अहिले उक्त जग्गा बाँझै छ।
डाँगीबारीका बासिन्दा भन्छन् उनीहरुले जग्गा धनीको टेलिफोन नम्बर बारम्बार माग्दा पनि पाएनन्। स्थानीयबासी टिकादेवी पनेरुले भनिन्, ‘यो गाउँमा युवा छैनन्। अधिकांश विदेश छन्। घरमा भएका बुढा बुढीलाई सेनाका मान्छे आएर बन्दुक देखाएर तर्साउने गरेका छन्।’
गाउँलेका लागि हिँडन सजिलो होस भनेर खोलेको बाटोसमेत जोतिएको स्थानीयबासीको गुनासो छ। उनीहरु भन्छन्, ‘कानुनले दिएको अधिकार हामीले पाउनुपर्यो।’ केही दिन अघि उक्त जग्गाका हेरालु र स्थानीयबासीविच झडपसमेत भएको थियो।
जग्गाधनी मुना उप्रेतीले भने विगतमा उनको जमिन जोतभोग गर्नेहरुले आफ्नो हिस्सा खोजेको बताइन्। उनले भनिन्, ‘उनीहरुसंग आफ्नो भाग पाउने कानुनी आधार छैन। आधार भए प्रस्तुत गरुन्। कानुन अनुसार म दिन तयार छु।’