
पोखरा – कास्कीका कुखुरा पालक किसानले तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका छन् ।
किसानले कुखुराको उचित मुल्य नपाएको, कास्की बाहिरका कुखुरा ल्याएर बेचेको, किसान भन्दा बिचौलियाले फाइदा लिएको भन्दै तिहारपछि कुखुरा नपाल्ने उनीहरुले चेतावनी दिएका हुन् ।
कुखुरा पालक किसान समूह जिल्ला समिति कास्कीका सचिव बाबुराम पौडेलले कुखुराको उचित मूल्य नदिए घाटा खाएर कुखुरा नपाल्ने बताए ।
उनले भने,‘घाटा खाएर कुखुरा पाल्न सक्दैनौं, तिहार पछि पनि कुखुराको उचित मूल्य दिएनन् भने हामी कुखरा पाल्न छाडिदिन्छौं ।’
समूहका अध्यक्ष यज्ञप्रसाद गुरुङले पनि बिचौलियाका कारण दु:ख गर्ने किसानहरु मर्कामा परेको भन्दै आफूहरु माथि शोषण भएको र यो क्रम नरोकिए तिहारपछि कुखुरा पाल्न छाडेर दबाब दिने बताए ।
उनले भने,‘कुखुरा पालक किसान सधैँ मर्कामा, बिचौलियाले फाइदा उठाए, यो अवस्थाको बारेमा सुनुवाई भएन भने कुखुरा पाल्नु बेकार छ , हामी उचित मूल्य निर्धारणका लागि दबाब दिन तिहारपछि कुखुरा पाल्दैनौं ।’
यसैबीच नेपाल कुखुरा पालक किसान समूह जिल्ला समिति कास्कीले कुखुराको मूल्य निर्धारण गर्न माग गरेको छ । समितिको बैठकले जिउँदो कुखुराको मूल्य तोक्न माग गरेको हो । साथै समितिले जिउँदो कुखुराको मूल्य स्वचालित रुपमा घटबढ हुने व्यवस्था गर्नपनि माग गरेको छ ।
त्यस्तै किसानको खोरबाट सप्लायर्सले कुखुरा लैजाँदा एकतर्फी रुपमा मूल्य घटाउने गरेको भन्दै त्यस्ता कार्यपनि बन्द गर्न आग्रह गरेको छ ।
समूहले सस्तोको नाममा कास्की बाहिरबाट कुखुरा ल्याएर बेचविखन गरेको प्रति पनि आपत्ति जनाएको छ ।
समूहले जिल्ला बाहिरबाट ल्याउने कुखुराको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्न माग गरेको छ ।