
विर्तामोड- जातीय मित्रतालाई बढाउने उद्देश्यका साथ झापाबासी यसबर्षको छठ पर्व मनाउने तयारीमा छन्।
झापाका मेची, निन्दा, अन्दुवा, विरिङ, कन्काई, कमल तथा रतुवा नदीमा छठ पूजा गर्नका तयारी भइरहेको छ। प्रत्येक स्थानमा विशेष समारोह गरेर छठ पूजा गर्ने तयारीमा श्रद्धालुहरु लागेका छन्।
एक नम्बर प्रदेशका झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेहरुले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। बुधबार विहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ। मोरङको सिंघीया, केशलिया तथा सुनसरी मोरङ सिँचाई आयोजनाको नहरको तीरमा सर्वसाधारणले छठ मनाउने तयारी गरेका छन्।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्लपञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन् जसलाई खरना भनिन्छ।षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ्य दिन्छन्।
व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन्।तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ।
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको व्रतालुहरुको विश्वास छ।अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख भएको बताइन्छ।चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा रहेको बताइन्छ।
त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ।चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ।