
बिर्तामोड- झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालालाई श्रृंगार गर्ने काम भइरहेको छ। बर्षायाममा पलाएका घाँस पात काटेर चिटिक्क पारिँदैछ। तर यो बेला त्यहाँ कुनै फुटबल प्रतियोगिता हुन गइरहेको छैन।मंसिर ४ गते नेपथ्य ब्यान्डको विशेष प्रस्तुतिका लागि उक्त रंगशालालाई झकिझकाउ गर्ने काम भइरहेको छ।
दिनहुँ जस्तो हुने सवारी साधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि उक्त दिन नेपथ्य ब्यान्डलाई निम्तो गरिएको छ। साँझ हुने चेतनामूलक सांगीतिक प्रस्तुतिका लागि व्यवस्थापनको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए।
करिब पाँच करोड रुपैयाँ लाग्ने उक्त कार्यक्रमपछि प्रदेश नम्बर १ मा दुर्घटना न्यूनिकरण महाअभियान चल्नेछ। सहारा नेपाल चारपाने विर्तामोडको संयोजनमा सडक दुर्घटना न्यूनिकरण महाअभियान प्रदेश नम्बर एकका मुख्य शहरहरुमा सञ्चालन हुने बताइएको छ।
साहारा नेपालसहित १० भन्दा बढी संघसंस्थाले प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर दुर्घटना न्यूनिकरणका लागि महाअभियान मार्फत नेपथ्यको सांगीतिक कार्यक्रम गरिने महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए।कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्यूनिकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।
महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा र्याडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक गिरीले जानकारी दिए।
तेस्रो चरणमा आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ। नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समिक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए।
कार्यक्रमको चौथो चरणमा बिर्तामोड सहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, ईटहरी, धरान लगायतमा ट्राफिक लाईट जडान गरिने छ।
ट्राफिक लाईट जडान गर्न ३ करोड ६० लाख, नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतिका लागि ५० लाख ट्राफिक नियम सचेतनाका लागि २० लाख, ट्राफिक प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरण ७० लाख गरि जम्मा ५ करोड रुपैयाँ लागतका अभियान सञ्चानल गरिने अध्यक्ष गिरीले जानकारी दिए।