‘पोखरा क्रिकेट हब बन्छ, अन्तर्राष्ट्रिय खेल आयोजनामा प्रयास गरौँ’

+
-

सर्वाधिक उपाधि राशीको घरेलु क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग–पिपीएल भर्खरै सम्पन्न भएको छ। लामो समयदेखि नेपाल क्रिकेट संघ– क्यान निलम्बित भएपनि निजी क्षेत्रको अग्रसरतामा व्यवसायिक प्रतियोगिताको आयोजना हुनेक्रम बढ्दो छ।

धनगढीमा सुबास शाही नेतृत्वको टिमले आयोजना गर्ने धनगढी प्रिमियर लिग–डिपिएल र काठमाडौँमा आमिर अख्तर नेतृत्वको टिमले आयोजना गर्ने एभरेस्ट प्रिमियर लिग–ईपिएलपछि वार्षिक क्यालेन्डरमा थपिएको अर्को महत्वपुर्ण प्रतियोगिता पीपिएलले नेपालको व्यवसायिक क्रिकेटलाई नयाँ उचाइमात्र दिएको छैन, विश्व क्रिकेटमा पोखरालाई क्रिकेट पर्यटनको आकर्षक गन्तब्यकारुपमा समेत प्रस्तुत गरेको छ।

यसको आयोजक संस्था क्विन्स इभेन्ट प्रालि नामले नयाँ भएपनि यसका मुख्य ‘सेयर होल्डर’ नेपाली क्रिकेट ब्यवस्थापनका परिचित अनुहार हुन्। लामो समय क्यानको कर्मचारी रहेका छुम्बी लामाले नेतृत्व गरेको क्विन्स इभेन्ट यतिबेला नेपाली क्रिकेटका लागि निकै परिचित बनेको छ। पिपीएल आयोजना, यसको सफलता र सन्देश तथा नेपाली क्रिेकटका चुनौतीबारे देश सञ्चारका लोकेन्द्र प्रसाईले क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बीसँग कुराकानी गरेका छन्।

क्यान निष्क्रिय र निलम्बित रहेको अवस्था भएपनि व्यवसायिक क्रिकेट प्रतियोगिता आयोजनाको संख्या बढ्दो छ। यही क्रममा सर्वाधिक उपाधि राशीको प्रतियोगिता भव्य र सफलतापूर्वक सम्पन्न गर्नु भएको छ, त्यसका लागि बधाई।
– धन्यवाद।

काठमाडौँबाहिर प्रतियोगिता आयोजना गर्ने निर्णय कति चुनौतीपुर्ण थियो?
– देश संघीयतामा रुपान्तरण भइसकेकाले क्रिकेटका प्रतियोगिता र संरचनाहरु प्रदेशस्तरमा विस्तार हुनुपर्छ भन्ने हाम्रो सोच थियो। काठमाडौँ बाहिर त्यसमा पनि पोखरा सबै हिसाबले चुनौतीपूर्ण थियो। तर हामीले यसलाई अवसरका रुपमा लियौँ। पोखराप्रति हाम्रो विश्वास थियो। त्यहाँको मौसम, पर्यटकीय आकर्षण, पृष्ठभुमीमा हिमालको मनमोहक शृंखलाजस्ता कुराहरुले यो एउटा प्रतियोगिता आयोजना गर्ने विषयमात्र थिएन, ताल र हिमालको बहुप्राकृतिक सुन्दरता, लेक साइडको आकर्षण लगायतले अन्तर्राष्ट्रिय क्रिकेट समुदायलाई पोखरा क्रिकेट पर्यटनको गन्तब्य बन्न सक्छ भनेर विश्वास दिलाउनु पनि थियो। काठमाडौँबाट गाडीबाटै पनि चार/पाँच घन्टामा पुगिने भएकाले पोखरालाई अवसरका रुपमा लिएर हामीले काम गर्नुको विकल्प थिएन।

यसमा कति सफल हुनु भयो त?
हामीलाई सबैभन्दा पहिला त पूर्वाधार चाहिएको थियो। पोखरा रंगशाला खेल्न योग्य थिएन। हामीले कुनै सम्झौता गरेनौँ। उपलब्ध सबै स्रोत परिचालन भए। जति लाग्न सक्थ्यो त्योभन्दा बढी खर्च गर्‍यौँ। हामीले मुम्बईबाट क्युरेटर ल्याएका थियौँ। नेपालका एक्सपर्ट क्युरेटर पनि यसमा संलग्न थिए। करिब तीन महिनाको समय लगाएर तयार गरेको पिच,आउटफिल्ड सबैबाट हामीले वाहवाही पायौँ। स्थानीय खेलकर्मीहरु पनि रंगशाला देखेर अचम्मित हुँदै भन्नुहुन्थ्यो– कसरी तयार भयो यस्तो रंगशाला!

काठमाडौँभन्दा बाहिर स्पाइक लगाएर खेल्न मिल्ने पहिलो क्रिकेट रंगशाला बनाएका थियौँ। प्रतियोगिताको उद्घाटनमा मौसम राम्रो खुलेको थियो। पृष्ठभुमिमा नजिकैजस्तो देखिने हिम शृंखलाले रंगशालाको सुन्दरता बढाएको थियो। उद्घाटनकै दिन हामीलाई प्रतियोगिता भव्य र सफलतापूर्वक सम्पन्न हुँदैछ भन्ने महसुस भएको थियो।

हामीले अनुमान गरेभन्दा विपरित पोखरामा क्रिकेट क्रेज निकै देखियो। हरेक दिन दर्शकको घुइँचो लाग्यो। खेलाडीहरुले विदेशमा पनि यस्तो ठाउँमा नखेलेको बताउँदै थिए। हामीसँग कीर्तिपुर क्रिकेट मैदानबाहेक अर्को पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला तयार भएको छ। यो ‘एट्मसफेयर’ अन्तर्राष्ट्रिय समुदायले पनि देखेको छ। प्रतियोगितामा विदेशबाट समेत खेलाडी आएकाले उनीहरुले पनि सन्देश फैलाउने छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसिसीले पनि यसलाई बुझेको छ। प्रतियोगिता भइरहेका बेला विश्वकप ट्रफी पोखरा पनि पुर्‍याइएकाले  यसको प्रवद्र्धनमा सजिलो भएको छ। मलाई लाग्छ– पोखरा क्रिकेट हब बन्दै छ। तर अब हामीले यो रंगशालाको संरक्षण र प्रवद्र्धनमा काम गर्नुपर्छ। यहाँ अन्तर्राष्ट्रिय खेल खेलाउन ध्यान दिनुपर्छ।

यो स्तरको प्रतियोगिता आयोजना कति जति बजेट चाहिने रहेछ? अनि बजेट जुटाउन कति गाह्रो हुने रहेछ ? कर्पोरेट सेक्टरको रेस्पन्स कस्तो छ?
– हामीले नाफाघाटाका लागि यो प्रतियोगिता गरेका थिएनौँ र अहिले यो सोच्ने बेला पनि अहिले होइन। त्यसैले कति खर्च भयो, नाफा घाटा कति भयो भन्ने हिसाबतिर नलागौँ। क्रिकेटको विकास र विस्तारका लागि हामीले कुनै विषयमा पनि सम्झौता गरेनौँ। प्रतियोगिता सोचेअनुरुपभन्दा भव्य हुनु हाम्रो सफलता हो। एउटा कुरा के भने क्रिकेटले नेपाललाई अहिले विश्वभर चिनाएको छ। नेपाली क्रिकेटको सम्भावना सबैले बुझेका छन्। त्यो कर्पोरेट सेक्टरले पनि बुझेको छ। निजी क्षेत्रको लगानी बिना कुनै पनि व्यवसायिक प्रतियोगिता अगाडि बढ्न सक्दैन। हामीले कन्भिन्स गर्न सक्यौँ भने लगानी जुटाउन गाह्रो छैन। त्यसका लागि हामीसँग राम्रो प्लान र प्रोपोजल हुनु जरुरी छ। प्रायोजकहरुलाई ‘विन–विन’को स्थितिमा स्थापित गर्न सकियो भने हामी यस्ता धेरै प्रतियोगिताहरु आयोजना गर्न सक्छौँ।

तपाईँलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित थुप्रै सिनियर खेलाडीको साथ थियो र सबै कुराको ब्यवस्थापनमा उनिहरुले बलियो साथ दिएका थिए भनिन्छ। केहीले त पर्दा पछाडिका आयोजक तिनै खेलाडीहरु हुन् पनि भन्छन्।
हरेक व्यवसायिक प्रतियोगिताको आयोजनामा पर्दा पछाडि खेलाडीको साथ रहन्छ। भलै पीपिएल आयोजनामा अलिक बढी साथ रह्यो होला। यसमा अचम्म मान्नुपर्ने कुनै कुरा छैन। क्यान निलम्बित भएको अवस्थामा खेलाडीले प्रतियोगिता आयोजना गर्न आयोजकलाई साथ दिनु राम्रो कुरा हो। निस्वार्थ र स्वच्छ भावना राखेर काम गर्ने हो भने खेलाडीको साथ पाउँदा प्रतियोगिताहरु आयोजना गर्न सजिलो त पक्कै हुन्छ।

हिजोसम्म क्यानको सामान्य कर्मचारी रहेको व्यक्ति तपाई आज व्यवसायिक प्रतियोगिता आयोजनामा अग्रसर हुनु भएको छ। खेलाडीहरुको पनि राम्रो साथ छ। यसलाई भविष्यमा क्रिकेट ब्यवस्थापनमा आउने अभ्यासका रुपमा लिन सकिन्छ?
म हिजोका दिनमा लामो समय क्यानमा थिएँ। मैले क्यानमा काम गर्दा लिएको अनुभव अहिले कार्यान्वयन गरिरहेको छु र मलाई लाग्छ आफुलाई प्रमाणित पनि गरेको छु। म क्रिकेट विकासकै लागि सक्रिय छु र आफूले सक्ने गरिरहेको छु। भोलिका दिनमा यो बन्छु भनेर केही सोचेको छैन।

आजको दिनमा नेपाली क्रिकेटका चुनौती के हुन्?
– पहिलो कुरा त क्यान अहिले निलम्बित छ। नेपाली टोलीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको एक दिवशीय अन्तर्राष्ट्रियको मान्यता पनि गुम्ने खतरामा छ। उमेरस्तर र महिला क्रिकेट प्रतियोगिता लगभग शून्यको स्थितिमा छ। प्राप्त उपलब्धीहरुको सरकार आफैँले अग्रसरता लिएर संरक्षण र विकासमा लाग्नुपर्छ। सबै मिलेर क्रिकेट विकासका लागि एकजुट हुनुको विकल्प छैन। त्यसका लागि क्यानको विवाद समाधान गरेर सक्षम नेतृत्व आउनुपर्छ। पूर्वाधार निर्माण र विकास बिना क्रिकेटको विकाससम्भव छैन। प्रतियोगिता गरेरमात्र हुँदैन, स्तरीय रंगशाला भएन भने प्रतियोगिता गर्नुको मात्र अर्थ हुँदैन। जिल्ला, प्रदेशस्तरमा क्रिकेट पूर्वाधार तयार गरि जतिसक्दो धेरै प्रतियोगिता आयोजना गर्ने र व्यवसायिकतालाई अगाडि बढाउनुपर्छ।

महिला क्रिकेटमा पनि योजना छन् कि?
महिला क्रिकेटका लागि पनि हामी चाँडै कार्यक्रम सार्वजनिक गर्दै छौँ।

आगामी पिपिएल कहिले र कस्तो हुने छ?
हामी पीपिएल हरेक वर्ष आयोजना गर्ने छौँ। आगामी वर्ष प्रतियोगिता अझ ब्यापक हुने छ। प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने हाम्रो योजना छ।

अन्तर्वार्ताको पूर्ण भिडियो यहाँ हेर्नुहोस्:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?