
विर्तामोड- झापाको विर्तामोड नगरपालिका ८ को टुनटुन बस्तीका सन्थाल, मुसहर तथा दलित समुदायका सर्वसाधारण बिहानैदेखि लाम लागेर बसेका थिए।
उनीहरु कलाकार सीताराम कट्टेल ‘धुर्मुस’लाई पर्खेर बसेका थिए। ठिहिर्याउने जाडोलाई पर्वाह नगरी उनीहरु न्यानो कपडाको प्रतिक्षामा थिए।
आइतबार गृह जिल्ला झापाका विपन्न समुदायका मानिसहरुलाई न्यानो कपडा वितरण गर्ने तालिका धुर्मुसले बनाएका थिए। बिहान करीब ८ बजे धुर्मुस टुनटुन बस्ती पुग्दा विपन्न समुदायका मानिसहरुको खुशीको सीमा रहेन। सुरक्षाकर्मीहरुले लाम लगाएर राखेका सन्थाल, मुसहर तथा दलित समुदायका सर्वसाधारणले न्यानो ओड्ने कपडा पाउँदा उनीहरुको अनुहार एकाएक उज्यालो भएको थियो।
उक्त बस्तीमा सन्थाल समुदायका बाबुलाल सोरेनले न्यानो कपडा पाएपछि जीवनमा सबैभन्दा खुशीको पाएको दिन भन्दै खुशी व्यक्त गरे। उनले भने, ‘आज हाम्रो समुदायका लागि सबभन्दा खुशीको दिन हो। उहाँलाई भगवानले रक्षा गरुन्।’
जाडोमा कामिरहेका सम्बरबहादुर परियारले आफू जस्ता दलित समुदायका मानिसहरुलाई हेर्ने मान्छे कम रहेको अवस्थामा कलाकार धुर्मुसको यो कदमलाई जति प्रशंसा गरे पनि कम हुने बताए। परियारले भने, ‘अब न्यानो कपडा ओडेर जाडो भगाउने हो। उहाँ कलाकारलाई धेरै धेरै धन्यवाद।’
टुनटुन बस्तीमा धुर्मुसले एक सय ६७ जनालाई न्यानो कम्बल वितरण गरेका छन्। त्यसपछि लगत्तै उनले विर्तामोड नगरपालिका ७ मा रहेको मुसहर बस्तीमा ३३ जनालाई कम्बल वितरण गरेका छन्। कलाकार धुर्मुसका साथमा अर्का कलाकार जितु नेपाल पनि थिए। कलाकार नेपालले भने, ‘धुर्मुस जस्तो कलाकार न पहिला जन्मियो न फेरि जन्मिने छ।’
कलाकार धुर्मुसले आफूलाई सामाजिक काम गर्दा जति आनन्द आउँछ अन्य काम नआउने बताए। उनले भने, ‘म तपाईंहरुले जन्माएको कलाकार हो। तपाईंहरुको दुःखमा साथ दिन आएको छुु।’