
काठमाडौँ- पछिल्लो समय पोखरा र प्याराग्लाइडिङ पर्यायवाचीजस्तै बनेका छन्। पोखरा पुग्ने पर्यटकको योजना नै हुन्छ- एकपटक प्याराग्लाइडिङ गर्ने। हुन पनि मौसम सफा रहेको अवस्थामा पोखराको आकाश प्याराग्लाइडिङ गर्नेहरुले ढाकेको हुन्छ। माथि आकाशमा बाक्लोसँग चरा उडेजस्तै देखिने यो दृश्यले कसको मन नलोभ्याउला! इन्डोनेसियामा आयोजित १८ औँ एसियाली खेलकुद-एसियाडमा नेपालले रजत पदक जितेपछि प्याराग्लाइडिङको चर्चा खेलका रुपमा समेत बढेको छ।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामै सफलता हात पारेपछि प्याराग्लाइडिङलाई नेपाली खेलकुदको प्राथमिकतामा राख्न सुरु भएको छ। नेपाल प्याराग्लाइडिङ ह्याङग्लाइडिङ संघले सक्रियता पनि बढाएको छ। केही साताअघि संघकै आयोजनामा स्याङ्जामा एक्युरिसी प्याराग्लाइडिङ विश्व च्याम्पियनसिप सम्पन्न भयो। नेपाल टिम स्पर्धामा तेस्रो भयो।
२०४६ सालतिर नेपालमा पहिलोपटक प्याराग्लाइडिङको टेस्ट फ्लाइट भएको इतिहास छ। ब्रिटिस नागरिक एडम र नेपाली बिरु बम्जन लगायतको समूहले ललितपुरको लाकुरी भन्ज्याङबाट टेस्ट फ्लाइट गरेपनि नागरिक उड्डयन प्राधिकरणले हवाई जहाजका उडान प्रभावित हुने बताएपछि यो समूह पोखरातर्फ लागेको थियो। विदेशीहरु सराङ्कोटबाट प्याराग्लाईडिङ गर्न थाले, सोखका लागि। यस्ता विदेशीहरुको संख्या बढ्न थाल्यो विस्तारै। उनीहरुकै पछि लागेका दामु पराजुली, बालु बस्याल, राजेश बम्जन लगायत विस्तारै आफैँ उड्न सक्ने भए। बिरु बम्जनले करिब २० वर्षअघि स्थापना गरेको सनराइजन प्रालि प्याराग्लाइडिङको क्षेत्रमा पहिलो उडान कम्पनी मानिन्छ। बिरुका छोरा राजेश पहिलो व्यवसायिक पाइलट मानिन्छन्। पछिल्लो समय काठमाडौँ र पूर्वान्चलमा समेत प्याराग्लाइडिङ उडान कम्पनी खुलेका छन्।
एउटा पाइलटले मासिक डेढ देखि दुई लाखसम्म आम्दानी गर्ने पोखराका प्याराग्लाइडिङ व्यवसायी बताउँछन्। पाइलटकै अभावका कारण काठमाडौँ उपत्यका र पुर्वान्चलमा कतिपय कम्पनी खुलेर पनि फ्लाइट गर्न नसकिरहेको नेपाल प्याराग्लाइडिङ ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावत दावी गर्छन्। उनी आफैँ पनि पोखरामा प्याराग्लाइडिङ उडान कम्पनी सन्चालन गरिरहेका छन्। प्याराग्लाडिङको व्यवसायिक र खेल पक्ष तथा नेपालमा पछिल्लो अवस्थाबारे देशसञ्चारले रावतसँग कुराकानी गरेको छ।
१. पछिल्लो समय नेपालमा प्याराग्लाइडिङको व्यवसायिक स्थिति कस्तो छ?
– अहिले प्याराग्लाइडिङ पोखरामा बढी केन्द्रित छ। पोखरामा दैनिक दुई सयदेखि पाँचसय सम्म स्वदेशी तथा विदेशी पर्यटकहरुले प्याराग्लाइडिङ गर्छन्। दशैँ/तिहारको समयमा यो संख्या एक हजारसम्म पुगेको थियो। अहिले पोखरामा मात्र ६० वटा कम्पनी छन्। पछिल्लो समयमा पुर्वान्चलमा पनि ८/१० वटा कम्पनी खुलेको पाइएको छ। काठमाडौँ उपत्यकामा पनि केही कम्पनी खुलेका छन्। बन्दीपुर, स्याङ्जा लगायत ठाउँमा नियमितरुपमा प्याराग्लाइडिङ सन्चालन भइरहेका छन्।
२. पछिल्लो समय प्याराग्लाइडिङको क्रेज ह्वात्तै बढेको हो ?
– भुकम्प अघिसम्म पोखरामा २० वटा कम्पनी सञ्चालनमा थिए। ४०/५० जनाको संख्यामा स्वदेशी पाइलट थिए। तर अहिले व्यवसायिक र सिकारु गरी करिब पाँच सयको हाराहारीमा पाइलट छन्। यीमध्ये दुई सय ८० जति पाइलट व्यवसायिक छन्। उनीहरु सबै व्यस्त छन्। यो तथ्याङ्कबाटै प्रस्ट हुन्छ, प्याराग्लाइडिङको क्रेज ह्वात्तै बढेको छ। पछिल्लो २/३ वर्ष खासगरी भूकम्पपछि प्याराग्लाइडिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ।
३. पाइलटहरु कसरी उत्पादन भइरहेका छन् ?
सुरुमा नेपाली पाइलटहरु विदेशी पाइलटकै पछाडि लागेर निपुण भए। विदेशी पाइलटको सहयोगी बनेर प्याराग्लाइडिङ गर्न सिके। विस्तारै उनीहरु व्यवसायिक पाइलट बने। यो संख्या ३०/३५ को हाराहारीमा हुन सक्छ। तर ३/४ वर्षअघि सरकारले प्याराग्लाइडिङका पाइलटका लागि कमर्सियल लाइसेन्सको ब्यवस्था लागू गर्यो। व्यवसायिक पाइलट बन्ने ‘म्यानुअल’ तयार भयो। अहिले हाम्रोमा पाइलट तयार गर्न निजी क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल छन्। तर सरकारीस्तरमा छैन। एसएलसी पास गरेको र शारिरिकरुपमा फिट भएको व्यक्ति पाइलट कोर्स गर्न योग्य हुन्छ। १५ दिनको बेसिक कोर्स गरेपछि आफैँ उड्न सक्ने हुन्छन्। यसपछि उनीहरु खेलाडी बन्न सक्छन्। तर, व्यवसायिक पाइलट बन्ने र अरुलाई उडाउने बाटो लामो छ। बेसिक कोर्स गरेपछि दुई सय घन्टा आकाशमा उड्नुपर्छ। त्यसपछि ऊ एडभान्स पाइलट बन्छ। रेस्क्यु कोर्स, एसआइभी कोर्स र टेन्डेम कोर्स गरेपछि उनीहरु कमर्सियल लाइसेन्सका लागि योग्य हुन्छन्। उनीहरु अरुलाई उडाउन सक्षम हुन्छन्। बेसिक कोर्स सुरु गरेको समयदेखि करिब १८ महिनाको अवधिमा कुनै पनि पाइलटले कमर्सियल लाइसेन्स प्राप्त गर्न सक्छ।
४. कोर्स कत्तिको खर्चिलो छ?
– अहिलेका निजी क्षेत्रका स्कुलले बेसिक कोर्स गरेको दुई लाख ५० हजार रुपैयाँसम्म लिने गरेका छन्। यसमा ग्लाइडर्स र खाने बस्ने व्यवस्था स्कुल आफैँले गर्ने गरेको बुझेको छु। एउटा ग्लाइडर्सको मात्र चार लाख रुपैयाँसम्म पर्छ। ग्लाइडर्स सेटसहित किन्दा सात लाख रुपैयाँसम्म पर्छ। एउटा ग्लाइडर्सको आयु दुई सय घन्टा र सेटको बाँकी सामानको आयु चार सय घन्टासम्म हुन्छ। बेसिक कोर्सपछि पाइलट आफैँले ग्लाइडर्स किन्नुपर्छ। अहिले हाम्रोमा व्यवसायिक पाइलटले आफ्नै ग्लाइडर्सले उडाउँछन्। यसरी हेर्दा व्यवसायिक पाइलट बन्न १२ देखि १४ लाखसम्म लाग्न सक्छ।
५. व्यवसायिक पाइलटले अहिले मासिक कतिसम्म आम्दानी गर्छन् ?
– अहिले सेवाग्राहीबाट ६ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ। यो रकममध्ये ३५ सय जति पाइलटलाई दिन्छौँ। बाँकी रकमबाट कम्पनी सन्चालन हुन्छ। एउटा पाइलटले दैनिक दुई वटा फ्लाइट गर्दा पनि मासिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
६. पाइलटहरु सबैले रोजगारी पाउने अवस्था कत्तिको छ ?
– अहिले हामीसँग दुई सय ८० जतिको संख्यामा स्वदेशी व्यवसायिकपाइलट छन्। जबकि दैनिक नेपाललाई अहिले चार सयको संख्यामा व्यवसायिक पाइलट चाहिएको छ। सिजनको बेला एक सय र अरुबेला करिब ५० जनाको संख्यामा विदेशी व्यवसायिक पाइलटले नेपालमा प्याराग्लाइडिङ गराउँदै आएका छन्। पाइलट नभएकै कारण कतिपय कम्पनी निष्क्रिय अवस्थामा छन्। पुर्वान्चल, काठमाडौँ उपत्यकामा पनि पाइलट अभावका कारण कम्पनीहरु राम्रोसँग सन्चालन हुन नसकेको सुनेको छु।
७. पाइलट उत्पादनमा सरकारी तवरबाट के हुँदै छ ?
– एसियाडमा प्याराग्लाइडिङको सफलतापछि संघ र सरकार अहिले यस खेलको प्रवद्धन र विकासमा जुटेका छौँ। हामी ट्रेनिङ सेन्टर र अभ्यास गर्ने ठाउँको खोजीमा थियौँ। अध्ययनपछि हामीले धरानलाई उपयुक्त ठान्यौँ। अब सम्पूर्ण प्रक्रिया पूरा गरेर हामी त्यस क्षेत्रमा उडानका लागि आकाश छुट्याउने तयारीमा छौँ। मलाई लाग्छ- त्यहाँ बन्ने ट्रेनिङ सेन्टरले पाइलटको पर्याप्त उत्पादन हुने छ। अहिलेको पाइलटको बेसिक कोर्स महँगो भन्ने गुनासो सुन्ने गरिएको छ। अहिलेको भन्दा ३०/४० प्रतिशतसम्म सस्तोमा हामी कोर्स सन्चालन गर्ने छौँ।
८. अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली प्याराग्लाईडिङको सम्भावना कस्तो छ ?
– एसियाडमा प्राप्त सफलतापछि नेपाली प्याराग्लाइडिङले अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई उचाई दिन सक्छ भनेर स्पष्ट भइसकेको छ। हाम्रोमा सरकारीस्तरबाट यस खेलको प्रवर्द्धन र विकासमा लगानी नै भएको छैन भनेपनि हुन्छ। तर सरकारले ध्यान दिने हो भने हामी धेरै गर्न सक्छौँ। मलाई लाग्छ- सरकारले पनि प्राथमिकता दिएर काम अगाडि बढाइसकेको छ। राष्ट्रिय खेलकुद परिषद्- राखेपले प्राथमिकताको खेलमा प्याराग्लाइडिङलाई समावेश गरेको छ। निकै कठिन भनिएका ठाउँमा समेत नेपाली प्याराग्लाइडिङ खेलाडीले सफल उडान गरेका छन्। खेलाडी उत्पादन र नियमित राष्ट्रिय प्रतियोगिता सन्चालन अहिलेका चुनौती हुन्।