सुर्खेत – डोल्पाको दुनै–जुफाल, सुँपानी सडकखण्ड अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।
कात्तिक १९ गते बतासेडाँडामा जीप दुर्घटना भएपछि बन्द भएको यातायातसेवा अझै सुचारु नहुँदा स्थानीयबासी सास्ती भोग्न बाध्य भएका हुन्।
स्थानीय प्रशासनले सडक जोखिमपूर्ण भएको जनाउँदै यातायात सञ्चालनमा रोक लगाएको हो। २० दिन बितिसक्दा पनि प्रशासनले सडक सञ्चालन गर्न अनुमति दिएको छैन।
दुनै–जुफाल १२ किलोमिटर, दुनै–सुँपानी १६ किलोमिटर गरी करीब २८ किलोमिटर सडकमा विगत पाँच वर्षदेखि स्थानीयले जीपमा यात्रा गर्दै आएका थिए।
अधिकतम ३ मिटर ट्रयाक निर्माण रहेको सडकमा जोखिमपूर्ण यात्रा जोखिम भएको बताउँदै जीप दुर्घटनापछि बन्द गरिएको हो। हाल बन्द गरिएको सडक मर्मत पश्चात मात्रै खोल्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

त्रिपूरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय र सुरक्षाबीच छलफल पश्चात दुनै–जुफाल सड्क मर्मत गर्ने काम थालिएको छ। मर्मतको कार्य सकिएलगतै यातायात सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।
सुरक्षाका हिसाबले निकै जोखिम रहेकाले स्थानीय तहसँग सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए।
‘जनताका बाध्यतालाई मध्यनजर गर्दै मर्मतको काम तीव्र पारिएको छ,’ बुढाले देश सञ्चारसँग भने, ‘अब केही दिनमा जीप सञ्चालनमा आउँछन्।’
बतासे डाँडामा भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको थियो। एक जना हालसम्म पनि बेपत्ता छन्।

भर्खरै
लोकप्रिय






































































































































































































