
विर्तामोड – आगलागीमा परि ज्यान गुमाएका खनाल परिवारका छिमेकी होमनाथ पौडेल राति आउँदा आगोले घर छोपिसकेको थियो।
उनले आगोले एक किसिमको आवाज निकालेर बलिरहेको बताए। उनले भने, ‘अरुले पनि भने घरका मान्छे भित्रै छन् भनेर तर निकाल्न जाने मौका पनि पाएनौं।’
अर्की छिमेकी देवीमाया पौडेलले चिच्याएर आउँदा घरमा आगो दन्किसकेको थियो। स्थानीयबासीको केही जोड नचलेको उनले बताइन्। पौडेलले भनिन्, ‘गुहार गुहार भनेर करायौं के चल्थ्यो र हाम्रो?’
झापाको शिवसताक्षी नगरपालिका ७ मा एकै परिवारका चार जनाको ज्यान जाने गरि भएको आगलागीको कारण यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालका अनुसार आगलागी भएको घरको विजुली अव्यवस्थित रहेको, घरको भुईंतलामा धान, पराल तथा धान झार्ने थ्रेसर मेसिनका लागि डिजेल राखिएको थियो।
आगलागीमा एउटा खाना पकाउने ग्यास सिलिन्डर पनि विस्फोट भएको उनले बताए। ढकालले भने, ‘यी मध्ये कुनै एउटा कारण हुनसक्छ। हामी यस विषयमा खोजी गर्दैछौं।’
आइतबारराति अचानक घरमा सल्केको आगोमा परि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चारजनाको मृत्यु भएको थियो।
राति १० बजेको समयमा उक्त आगलागी भएको हो। मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन्।