
पोखरा – भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ७ गते हुने भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने १३औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७५ रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुने पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपांगता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टिविहीन ह्विलचेयर प्रतियोगिता गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ। म्याराथनमा विजेताले नगद एक लाख प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार प्राप्त गर्ने छन्।
त्यस्तै, १० किमी पुरुष–महिला दौडमा प्रथमले १५, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्रछात्रा दौडमा प्रथमले १० हजार, दोस्रोले ७ र तेस्रो ४ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
प्रतियोगिता सम्पन्न गर्नका लागि पोखरेली मञ्च युके, पोखरेली मञ्च हङकङ, सहरका क्लब युके लगायतका संघसंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन्। प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा सुजल डेरी रहेको छ।
भूतपूर्व खेलाडीमञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले स्वास्थ्य जीवन शैलीका लागि खेलकुदको महत्व रहेको जनाउँदै खेल म्याराथन प्रतियोगिताबाट पोखरालाई चिनाउन अझै सहयोग पुग्ने बताए। गुरुङले प्रतियोगिता सम्पन्न गर्न २२ लाख ९९ हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले जानाकारी दिए।